चिताइन, १८ फागुन – सर्लाहीको हरिपुर नगरपालिका–७, चिताइनमा आयोजित अन्तर प्रदेशस्तरीय तेस्रो मेयर कप नकआउट पुरुष भलिबलको उपाधि महोत्तरीको करुणाले हात पारेको छ ।
आज साँझ सम्पन्न फाइनल खेलमा नेपाली सेनाको सर्लाहीस्थित भैरवीदल गण पाँचकुमारी ब्यारेकलाई ३–२ को सेटमा पराजित गर्दै महोत्तरीको करुणा गाउँले उपाधि उचालेको हो । फाइनल खेलमा महोत्तरीले दोस्रो, चौंथो र पाँचौं सेट जित्दै उपाधि रक्षा गर्न सफल भएको हो ।
भैरवीदल गणले पहिलो र तेस्रो सेटमा प्रतिस्पर्धात्मक जित निकाले पनि हार टार्न सकेन । पहिलो सेट २५–२२ ले जितेको भैरवीदलले दोस्रो सेट भने २५–१२ को फराकिलो अन्तरले हार्न पुुग्यो ।
तेस्रो सेटमा पुनः २५–२३ को रोमाञ्चक जित निकालेको भैरवीदलले चौंथो सेट २५–१६ र पाँचौं सेट १५–८ ले महोत्तरीलाई सुम्पिँदै उपबिजेतामा चित्त बुुझाउनुपर्यो ।
जितसँगै महोत्तरीको करुणाले नगद एक लाख रुपियाँसहित ट्राफी हात पारेको छ । उपबिजेता भैरवीदल गणले भने ५० हजार रुपियाँमा चित्त बुुझाएको छ । प्रतियोगिताको बिजेता महोत्तरीको करुणाका नवीन महतो म्यान अफ दी सिरिज, मन्जिल गुुरुङ वेष्ट सेटर, मनिष मानन्धर वेष्ट ब्लकर, तमन थापा बेष्ट लिब्रो र भैरवीदल गणका बलराम सुवेदी वेष्ट स्पाइकर घोषित भएका छन् ।
लक्ष्मीनाथ यूवा क्लब चिताइनको आयोजनामा महाशिवरात्रिको अवसरमा आयोजित प्रतियोगितामा मधेश प्रदेशका विभिन्न जिल्लाबाट नौवटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता अन्तर्गत महिला भलिबलतर्फको उपाधि बाराको कोल्हबी गाउँले जितेको छ ।
आजै सम्पन्न फाइनल खेलमा आयोजक सर्लाहीलाई ३–२ कै सेटमा पराजित गर्दै बाराबाट आएको महिला टिम बिजयी भएको आयोजक लक्ष्मीनाथ यूवा क्लब चिताइनका सल्लाहकार चेतनारायण धामीले जानकारी दिए । बिजेता बाराको महिला टिमलाई १५ हजार र उपबिजेता सर्लाहीको महिला टिमलाई १० हजार नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको आयोजकले जनायो ।
पुरुष तथा महिला दुवै प्रतियोगिताका बिजेता तथा उपबिजेता टिम र उत्कृष्ट खेलाडीलाई सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियार, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, हरिपुर नगरपालिकाकी उपप्रमुख निलमदेवी राय यादव, प्रमुख प्रशासकीय अधिकृत विनय पौडेल, लक्ष्मीनाथ यूवा क्लब चिताइनका अध्यक्ष नरहरि धामी, हरिपुर ७ का वडाध्यक्ष मनोजकुमार चौधरीलगायत भएर पुरस्कार वितरण गरेका छन् ।