मलंगवा, ११ फागुन – नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रले भोल्टेजको समस्या समाधान गर्न क्यापिसिटर बैङ्क जडान गरेको छ ।
वितरण केन्द्रकै परिसरमा रहेको सवस्टेशनमा क्यापिसिटर बैङ्क जडान गरिएको वितरण केन्द्र प्रमुख एवं उप–प्रवन्धक इन्जिनियर उमेशप्रसाद यादवले जानकारी दिए । मलङ्गवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा ‘लो भोल्टेज’ को समस्या अत्यधिक रहेको छ ।
बारम्बार विद्युत् कटौति भइरहने र बत्ती सूचारु रहेको समयमा अत्यन्त न्यून भोल्टेज आउने समस्याबाट सर्वसाधारण आजित भइरहेका छन् । वितरण केन्द्र प्रमुख यादवले सोही समस्या समाधानका लागि क्यापिसिटर बैङ्क जडान गरिएको बताएका छन् ।
केन्द्रीय कार्यालयले नै ठेकेदारमार्फत वितरण केन्द्रमा क्यापिसिटर बैङ्क जडान गरेको वितरण केन्द्रले जनाएको छ । भोल्टेजको समस्या समाधानकै लागि ६/८ को ट्रान्सफर्मर रहेको वितरण केन्द्रमा उक्त ट्रान्सफर्मर हटाएर २४ एमभिएको नयाँ ट्रान्सफर्मर जडान गरिएको वितरण केन्द्र प्रमुख यादवले बताएका छन् ।
उनका अनुसार गर्मीयाममा ‘लोड’ थेग्न नसकेर तार चुँडिने र अन्य दुर्घटना समेतहुनेक्रम अत्यधिक बढेपछि नवलपुरस्थित ग्रिड सवस्टेशनबाट तानिएको ३३ केभी लाइनको तार (कन्डक्टर) फेर्ने काम ८० प्रतिसत पूरा गरिएको छ । वितरण केन्द्रले गत वर्षदेखि नै पटक–पटक गरी नवलपुरदेखि मलङ्गवासम्मको तार फेर्ने काम गर्दै आइरहेको छ ।
तार फेर्ने कामका लागि दिनभर बत्ती काट्ने गरिएको मलङ्गवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा यही फागुन १ गतेदेखि भने मर्मतको काम रोकेर दिनभर बत्ती दिन थालिएको छ । ८० प्रतिसत तार फेर्ने काम भइरहेको र अब भने नवलपुरदेखि हरिपुरसम्मको काम हुन बाँकी रहेको वितरण केन्द्रले जनाएको छ ।
यो खण्डमा काम गर्दा हरिपुर सवस्टेशन वा भर्खरै निर्माण सम्पन्न भएको हरिपूर्वा सवस्टेशनबाट बत्ती दिने भन्ने विषयमा प्रादेशिक कार्यालय जनकपुरसँग समन्वय भइरहेको वितरण केन्द्र प्रमुख यादवले बताए ।
अब गर्मी चढ्दै जाने भएकाले दिनभर बत्ती काट्दा सर्वसाधारण प्रभावित हुनसक्ने भएकाले विकल्पमा हरिपुर वा हरिपूर्वाबाट मलङ्गवा वितरण केन्द्रमा लाइन दिएर नवलपुरदेखि हरिपुर खण्डको बाँकी तार फेर्ने काम गर्न लागिएको मलङ्गवा वितरण केन्द्रले जनाएको छ ।