logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

गोलभेँडाले पाउन छाड्यो भाऊ, ४ रुपैयाँ किलोमा बेच्नुपर्ने बाध्यता


  • उज्यालो अभियान

हरिवन १ तित्रीगाँछीमा गोलभेँडा टिप्दै गरेकी महिला कृषक । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, ०९ फागुन – गोलभेँडाले मुल्य पाउन छाडेपछि सर्लाहीका किसान मारमा परेका छन् ।

यहाँको थोक तरकारी बजारमा गोलभेँडा प्रतिकेजी चार रुपियाँमा झर्दा किसान मर्कामा परेका हुन् । लोकल जातको गोलभेँडा प्रतिकेजी चारदेखि छ रुपियाँ र हाइब्रिड गोलभेँडा प्रतिकेजी छ देखि आठ रुपियाँमा बिक्री भइरहेको छ ।

हुस्सु हटेर घाम चर्किन थालेपछि एकैपटक पाकेको गोलभेँडाले मुल्य नपाउँदा मार परेको लालबन्दी नगरपालिका–१०, चन्द्रपुरका किसान अमर लामाले गुनासो गरेका छन् । उनले किलोको चार÷पाँच रुपियाँमा गोलभेँडा बिक्री गर्दा लगानी समेत नउठ्ने अवस्था रहेको बताए ।

“यो मुल्यमा गोलभेँडा बेच्दा किसानलाई घाटैघाट मात्रै छ,” लामाले भने, “जोताई, बीउ र विषादीको खर्च केही पनि उठ्दैन् ।” किसानका अनुसार अन्य तरकारीको तुलनामा गोलभेँडामा बढी मात्रामा किटनाशक विषादी प्रयोग गर्नुपर्ने हुन्छ ।

दिनहुँ छिट्नुपर्ने विषादी अत्यन्त महँगो पर्ने तर गोलभेँडाको मुल्य भने असाध्य सस्तो हुँदा मार परेको किसानले गुनासो गरेका छन् । गोलभेँडा बिक्री हुनै छाडेपछि कतिपय किसानले गोलभेँडा नटिपेर बारीमै छाड्न थालेका छन् ।

कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष एवं व्यापारी तोरनबहादुर मगरले सबैतिर एकैपटक गोलभेँडा उत्पादन भएको तर खपत हुन नसकेका कारण किसानले मुल्य पाउन नसकेका बताए । “अहिले जताततै गोलभेँडा अत्यधिक उत्पादन भइरहेकाले मुल्य खस्किएको हो,” मगरले भने, “काठमाडौँमा टनेलको गोलभेँडा अत्यधिक भित्रिरहेकाले यहाँबाट गोलभेँडा पठाउन सकिएको छैन् । काठमाडौँमा निर्यात घटेपछि तरकारी बेच्नै मुस्किल पर्छ ।”

मधेश प्रदेशकै ठूलो तरकारी बजारकारुपमा रहेको लालबन्दी थोक तरकारी बजारबाट काठमाडौँमा दैनिक ६० देखि ७० टन र जनकपुर, वीरगन्ज, मलङ्गवा, चन्द्रनिगाहपुर, सिन्धुलीलगायत नजिकका बजारमा १५ देखि २० टन गोलभेँडा निर्यात हुने गरेको छ । गोलभेँडा बिक्री नभएर बारीमै नष्ट भइरहे पनि बजारिकरणका लागि स्थानीय पालिकाले कुनै वास्ता नगरेको किसानले गुनासो गरेका छन् ।

लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीले गोलभेँडा छिटो नष्ट भएर जाने हुँदा किसानलाई सस्तो मुल्यमै बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए । नगरप्रमुख अधिकारीले गत वर्ष किसानलाई गोलभेँडाको सस बनाउने तालिम दिएपनि त्यसबाहेक गोलभेँडाको बजारिकरणका लागि थप केही गर्न नसकिएको स्वीकार गरेका छन् ।

“घाम चर्किएपछि गोलभेँडा नष्ट भइहाल्ने भएकाले किसानलाई समस्या नै छ,” नगरप्रमुख अधिकारीले उज्यालो अभियानसँग भने,“ धेरै परिमाणमा उत्पादन भएका बेला यस्तो समस्या भएपनि अन्य समयमा त किसानले मुल्य पाइरहेकै हुन्छन् ।” नगरप्रमुख अधिकारीले ठूला होटल तथा गोलभेँडा खपत हुने सहरमा निर्यात गर्नुपरे त्यसका लागि नगरपालिका किसानलाई सहयोग गर्नका लागि तयार नै रहेको बताए ।

सर्लाहीमा उत्तरी भेगको लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाको दुुई हजार ५०० हेक्टर जग्गामा व्यावसायिक रुपमा गोलभेँडा खेती हुने गरेको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ ।