logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा पहिलो चरणमा २२ हजार किशोरीलाई एचपिभी खोप, हिजोबाट दोस्रो चरणको अभियान सुरु


  • उज्यालो अभियान

हरिवन, ०२ फागुन – पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध सर्लाहीका २२ हजार बढी किशोरीलाई एचपिभी खोप लगाइएको छ ।

स्वास्थ्य कार्यालय मलङ्गवाको तथ्याङ्क अनुसार पहिलो चरणमा खोप अभियान संचालन भएका जिल्लाका १० पालिकामा २२ हजार ८३० जना किशोरीलाई एचभिपी खोप प्रदान गरिएको हो । माघ २३ गतेदेखि ३० गतेसम्म पहिलो चरणमा खोप कार्यक्रम संचालन भएका लालबन्दी, ईश्वरपुर, हरिपूर्वा, मलङ्गवा, हरिपुुर र कविलासी नगरपालिका तथा चन्द्रनगर, पर्सा, ब्रह्मपुरी र कौडेना गाउँपालिकामा सो सङ्ख्याका किशोरीलाई खोप लगाइएको हो ।

यि १० पालिकामा २६ हजार ६०६ जना किशोरीलाई खोप लगाउने लक्ष्य लिइएकोमा लक्ष्यको ८५.७१ प्रतिसत् अर्थात् २२ हजार ८३० जना किशोरीलाई खोप लगाइएको पालिकाको स्वास्थ्य शाखाले स्वास्थ्य कार्यालयलाई तथ्याङ्क उपलब्ध गराएका छन् । पहिलो चरणमा माघ ३० गतेसम्म अभियान संचालन गर्ने भनिए पनि केही पालिकामा छुटेका किशोरीलाई अझै पनि स्वास्थ्य संस्थामा बोलाएर खोप लगाउनेक्रम जारी नै रहेको स्वास्थ्य कार्यालय मलङ्गवाका खोप फोकलपर्सन एवं जनस्वास्थ्य अधिकृत सुशीलकुमार झाले जानकारी दिए । उनका अनुसार दोस्रो चरणको अभियानअन्तर्गत सर्लाहीका बाँकी १० पालिकामा हिजोबाट एचपिभी खोप कार्यक्रम सुरु गरिएको छ ।

बलरा, गोडैता, बरहथवा, बागमती, हरिवन नगरपालिका तथा विष्णु, धनकौल, बसबरिया, रामनगर र चक्रघट्टा गाउँपालिकाका किशोरीलाई हिजोबाट खोप लगाउन सुरु गरिएको हो । १० पालिकाका २५ हजार ११८ जना किशोरीलाई फागुन ६ गतेसम्म अभियान संचालन गरी एचपिभी खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत झाले बताए ।

हरिवन नगरपालिकामा उपप्रमुख हरिमाया घलान, प्रमुख प्रशासकीय अधिकृत प्रतिक कार्कीलगायतको उपस्थितिमा एचपिभी खोप अभियान सूरु गरिएको स्वास्थ्य संयोजक रामबाबु चौधरीले जानकारी दिए ।

सरकारले विद्यालय जाने कक्षा छ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका किशोरीलाई पाठेघरको मुखको क्यान्सर हुनबाट रोक्न देशैभर एचपीभी खोप निःशुल्क लगाइरहेको छ ।