नाढीमन, २६ माघ – सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित मधेश प्रदेशको प्रमुख पर्यटकीय स्थल नाढीमन तालमा पुनः डुङ्गा (बोट) सञ्चालन गरिएको छ ।
गाउँपालिकाले दुईवटा विद्युतीय र १० वटा पाइडल (खुट्टा) ले चलाउने डुुङ्गा सञ्चालनमा ल्याएको हो । ती डुङ्गा लामो समयदेखि बिग्रिएर थन्किएका थिए ।
बिचमा केही समय तालमा पानी नभएर ताल समेत सुकेको थियो । तालमा पुनः पानी भरिएपछि बिग्रिएका पुराना डुुङ्गा मर्मत गरेर सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।
डुुङ्गा सञ्चालन भएपछि तालमा आन्तरिक तथा मित्र राष्ट्र भारतबाट समेत पर्यटकको आगमन हुने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष महतोले बताए । गत सोमबार श्रीपञ्चमीको दिन तालमा डुुङ्गा सयर गर्नेको भीड देखिन्थ्यो ।
केही वर्षअघि सम्म तालमा डुङ्गा सञ्चालन हुँदा पर्यटकको घुुइँचो लाथ्यो । डुङ्गा सञ्चालन हुन छाडेपछि भने सुनसान जस्तै बनेको पर्यटकीय स्थल नाढीमन तालमा पुनः पहिलेकै झैँ चहलपहल बढाउन प्राविधिक झिकाएर डुङ्गाको मर्मत तथा रङ्गरोगनको काम गरी सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनायो ।
नियमित डुङ्गा सञ्चालन हुँदा गाउँपालिकालाई राम्रो आम्दानी हुने गरेको छ । ५२ बिघामा फैलिएको नाढीमन ताल अतिक्रमणमुक्त भने हुन सकेको छैन् । अहिले कायम रहेको ताललाई संरक्षण तथा सम्वद्र्धनका लागि गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माण, सरसफाई, डुङ्गा सञ्चालनलगायतका काम अघि बढाएको गाउँपालिका अध्यक्ष महतोले बताए ।