हरिपुर, २४ माघ – तेस्रो कोद्राह गोल्डकपको उपाधि वीरगन्ज युनाइटेड क्लब पर्साले हात पारेको छ ।
सर्लाहीको हरिपुर नगरपालिका–५, स्थित मजुर्वामा आयोजित प्रतियोगिताको गएसाँझ सम्पन्न फाइनल खेलमा आरएफसी हरिवनलाई सर्डन डेथमा पराजित गर्दै वीरगन्ज युनाइटेडले उपाधि जितेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट एक/एक गोलको बराबरी भएपछि टाइबे्रकरमार्फत खेलको नजिता निकालिएको आयोजक राजा युवा क्लबले जनाएको छ ।
बिजेता वीरगन्ज युनाइटेडले ७० हजार १०५ रुपियाँ नगदसहित प्रतियोगिताको ट्रफी उचालेको छ । उपबिजेता आरएफसी हरिवनले भने ४० हजार ५५ रुपियाँमा चिक्त बुुझाएको छ ।
प्रतियोगिताको बिजेता, उपबिजेता र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई मधेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण गरिएको आयोजक राजा युवा क्लब लक्ष्मीपुर कोद्राहले जनाएको छ ।
क्लबका अध्यक्ष रभु हुसेन मोमिनका अनुसार प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका थिए ।