logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवनमा ३ हजार बढी किशोरीलाई एचपिभी खोप लगाइने


  • उज्यालो अभियान

हरिवन, २३ माघ – हरिवन नगरपालिकामा ३ हजार १४ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ ।

नगरपालिकाको सभा हलमा आज आयोजित एचपिभी खोप अभियान सम्वन्धमा पालिका स्तरीय खोप समन्वय समिति तथा संचारकर्मीसँगको बैठकमा हरिवनका स्वास्थ्य संयोजक रामबाबु चौधरीले नगरका ११ वटा वडामा फागुन १ गतेदेखि ७ गतेसम्म ३ हजार १४ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको जानकारी दिए । खोप कार्यक्रम संचालनका लागि अहिले अभिमुखीकरण तथा यस्तै प्रकारको अन्तरक्रिया कार्यक्रम संचालन भइरहेको चौधरीले बताए ।

बैठकमा विश्व स्वास्थ्य संगठन (डब्लुु एच ओ) जनकपुर फिल्ड कार्यालयका डा. राजीव कुमार शर्माले पाठेघरको क्यान्सरविरुद्ध चलाउन लागिएको एचपिभी खोप विश्वमा नै नेपालले १४८ औँ देशका रुपमा अभियान अघि बढाएकाले कुनै शंका नगरी ढुक्क भएर खोप लगाउन अनुरोध गरेका छन् ।

नगरपालिकाकी उपप्रमुख हरिमाया घलानले राष्ट्रव्यापीरुपमा चलिरहेको यो खोप अभियान सफल बनाउन सबै सरोकारवालासँग आग्रह गरेका छन् ।

बैठकमा विभिन्न वडाका वडाध्यक्ष, कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।