बबरगन्ज, २३ माघ – सर्लाहीका किसानले उत्पादन गरेको काउली र बन्दा बिक्री हुन छाडेको छ ।
यहाँका किसानले अहिले काउली र बन्दा मुस्किलले प्रतिकेजी चारदेखि पाँच रुपैयाँमा बेचिरहेका छन् । चन्द्रनगर गाउँपालिका–२, बबरगन्जका किसान बद्री साहले डेढ बिघा जग्गा भाडामा लिएर काउली खेती गरेकोमा मुल्य नै नपाएपछि समस्यामा परेको गुनासो गरेका छन् ।
गत वर्ष व्यापारीलाई काउली प्रतिकेजी १५ देखि २८ रुपैयाँसम्म बिक्री गरेका साहले यो वर्ष चारदेखि पाँच रुपियाँमा बिक्री गर्नुपरेको बताए । “गत वर्ष एक बिघामा काउली लगाउँदा २८ रुपैयाँ केजीसम्म बिक्री गरेँ तर यो वर्ष त चार रुपैयाँ केजी बिक्री गर्न पनि मुस्किल परिरहेको छ,” साहले भने,“ यो मुुल्यमा काउली बेच्दा मलखाद, विषादी र कामदारको खर्च त कहाँ हो कहाँ पानी पटाएको खर्चधरी उठ्दैन ।”
साहले वार्षिक प्रतिकठ्ठा चार हजार रुपियाँमा जग्गा भाडा (मनी) तिरेर काउली खेती गरेका छन् । जग्गाधनीलाई कसरी जग्गाको भाडा बुझाउने भन्ने चिन्ताले सताएको साहले दुःखेसो पोखे ।
बबरगन्जकै अर्का किसान रामदिनेश महतोले काउली खेती गर्ने किसान यो वर्ष निकै मारमा परेको बताए । पाँच रुपैयाँ केजी काउली बिक्री गर्दा लागत नै नउठ्ने अवस्था आएको महतोको भनाई छ । “एक कठ्ठा खेतमा काउली उत्पादन गर्न चार हजार रुपियाँ भन्दा माथि लागत पर्न जान्छ तर अहिले किलोको चार/पाँच रुपियँमा धरी बिक्री हुँदैन,” महतोले भने, “हामी किसान त व्यापारीले जति मुल्य दिन्छन, त्यत्तिमै बिक्री गर्न बाध्य छौँ ।”
किसानलाई मोटरसाइकलमा हालेर बजारसम्म काउली र बन्दा लगेर बिक्री गर्दा पेट्रोल खर्च उठाउन समेत धउधउ परेको छ ।

किसनपुरका किसान कृष्णदेव महतोले सात कठ्ठा जग्गामा बन्दा लगाउँदा मल, विषादी र जन समेत गरेर ३० हजार रुपैयाँ खर्च गरिसकेका छन् ।
अहिले बजारमा लगेर चारदेखि पाँच रुपियाँ केजीले बन्दा बिक्री गर्नुपर्दा महतोलाई पनि लागत कसरी उठाउने भन्ने चिन्ता छ । “एक क्विन्टल बन्दा लालबन्दी बजारसम्म पुर्याएर बेच्दा चार सय रुपैयाँ आउँछ, दुई सय रुपैयाँ मोटरसाइकलको पेट्रोलमा नै खर्च हुन्छ,” महतोले भने“ भाऊ पाउनै छाडेपछि बाँकी रहेको बन्दा नटिपेर खेतमै छाड्देको छु ।”
गत वर्ष बन्दाको राम्रो मुल्य हुँदा एक कठ्ठाबाटै ३० हजार रुपैयाँ आम्दानी भएपछि यो वर्ष हौसिएर सात कठ्ठामा बन्दा लगाएका महतो मुल्य नपाउँदा मारमा परेका छन् । काउली र बन्दाले बजार नपाउँदा खेतमै नष्ट भएर जान दिनुपर्ने अवस्था आएको किसानले गुनासो गरेका छन् ।
किसानको खेतमा पुग्दा काउली र बन्दा त्यसै नष्ट भएर गइरहेको देखिन्छ । चन्द्रनगर गाउँपालिका–२, बबरगन्जका किसान मुख्खा महतो किसानको यो बिजोग अवस्थामा कुनै निकायले वास्ता नगरेकोमा दुःखी छन् । “हामी किसान भुतुक्कै भएका छौँ तर न सरकार र गाउँपालिका कसैलाई वास्ता छैन्,” महतोले भने, “भारतमा त सरकारले नै किसानसँग तरकारी किनिदिएको सुनिरहेका छौँ, हाम्रोमा कसैले सोधखोज सम्म पनि गरेका छैनन् ।”