सर्लाहीको ग्रामीण भेगस्थित हरिपुर चिताईनमा लागेको तरकारी बजार ।
लालबन्दी, २१ माघ – हरेक तरकारीको मूल्य निरन्तर ओरालो लाग्दा सर्लाहीका तरकारी खेती गर्ने किसान मारमा परेका छन् ।
यहाँका किसानले फलाएको प्रत्येक मौसमी (सिजनल) तरकारीले अहिले मुुल्य पाउन सकेको छैन् । तरकारी टिपेर बजारसम्म ल्याएको ढुवानी खर्च समेत नउठ्ने अवस्था रहेको किसानले बताएका छन् ।
सर्लाहीका किसानले गोलभेँडा, सिमी, भान्टा, कोभी, बन्दालगायतका तरकारी फलाइरहेका छन् । यहाँको थोक बजारमा गोलभेँडा मुस्किलले प्रतिकेजी १२ देखि १४ रुपियाँमा बिक्री भइरहेको छ । किसानले सिमी केजी १२ रुपियाँमा बिक्री गरिरहेका छन् ।
फूलकोभी पाँच देखि सात रुपियाँ र बन्दा पाँच रुपियाँ प्रतिकेजीमा बिक्री गर्नुपर्ने किसानको बाध्यता रहेको छ । भान्टा फलाउने किसानले पनि उचित मुल्य पाउन सकेका छैनन् । भान्टा केजीको १० देखि १२ रुपियाँमा बिक्री भइरहेको छ ।
हरियो धनियाँको पात केजीको २० रुपियाँसम्ममा बिक्री भइरहेको छ । महँगो विषादी, मलखाद र कामदार प्रयोग गरेर उब्जाएको तरकारीले भाऊ नपाउँदा मार परेको लालबन्दी नगरपालिका–११, हीरापुरका किसान बुधलाल थिङले उज्यालो अभियानसँग गुनासो गरे ।
किसानका अनुसार प्रत्येक तरकारीको मुुल्य तीन गुणाले घटेको छ । अहिले मौसमी तरकारी धेरै नै उत्पादन भएको र बजारमा पनि प्रशस्त आइरहेकाले मुल्य घटिरहेको लालबन्दी थोक तरकारी बजार समितिले जनाएको छ ।
तरकारी व्यापारी मोहम्मद उस्मानले बाहिरी जिल्लाबाट समेत काठमाडौँलगायत देशका प्रमुख शहरमा अत्यधिक तरकारी भित्रिरहेकाले यहाँको तरकारी बाहिरी जिल्लामा कम परिमाणमा निर्यात भइरहेको उज्यालो अभियानलाई जानकारी दिए ।
नजिकका जिल्लाबाट काठमाडौँमा अझ सस्तो मुल्यमा तरकारी पुगिरहेकाले सर्लाहीबाट बढी मुल्यमा तरकारी लगेर काठमाडौँमा बिक्री गर्न सक्ने अवस्था नरहेको व्यापारी उस्मानको भनाई छ ।