logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सामुदायिक विद्यालयमा नियमित ‘होमवर्क’ दिँदा मात्रै पनि पढाईको स्तर सुध्रिन्छ : मुख्यमन्त्री सिंह


  • उज्यालो अभियान

भक्तिपुर, २० माघ – मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सामुदायिक विद्यालयमा विद्यार्थीलाई नियमित गृहकार्य (होमवर्क) दिने र चेक गर्ने गरेमात्रै पनि पढाईको स्तर सुधार हुने बताएका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयको ६० औँ स्थापना दिवसका अवसरमा आज आयोजित हीरक जयन्ती समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो कुरा बताएका हुन् । निजी विद्यालयमा पठनपाठनका विषयमा विद्यालय, शिक्षक र अभिभावकको अत्यधिक चिन्तन हुने गरेपनि सामुदायिक विद्यालयमा सबै पक्षले बेवास्ता गर्दा शिक्षाको स्तर माथि उठ्न नसकेको मुख्यमन्त्री सिंहको भनाई छ ।

मुख्यमन्त्री सिंहले प्रत्येक सामुदायिक विद्यालयमा शिक्षकले नियमित गृहकार्य दिने र सो गृहकार्य विद्यार्थीले गरेर ल्याए÷नल्याएको परीक्षण गरिदिए विद्यार्थीको पढाई सुधार हुँदै जानेमा जोड दिए । सचेत समाज, जागरुक अभिभावक र इमान्दार शिक्षक रहेको सामुदायिक विद्यालय पठनपाठनमा उदाहरणीय बन्दै गएको भन्दै मुख्यमन्त्री सिंहले सामुदायिक विद्यालयको सुधारका लागि सबैपक्ष जिम्मेवार र चिन्तित हुनुपर्ने बताएका छन् ।

दरबन्दी अनुसार शिक्षक नहुँदा मधेशका जिल्लामा अझ बढी समस्या रहेको मुख्यमन्त्री सिंहको भनाई छ । उनले शिक्षकलाई चार महिनामा नभई महिनैपिच्छे तलब पाउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । प्रदेशको शिक्षाको कमजोर अवस्थालाई मध्यनजर गर्दै यो वर्षबाट दलित, मुस्लिम, जनजाति र जेहेन्दार विद्यार्थीलाई प्रदेश सरकारले छात्रावृत्तिको व्यवस्था गरेको मुख्यमन्त्री सिंहले बताएका छन् ।

यो वर्षदेखि प्रदेशको साक्षरता दर वृद्धि गर्न साक्षरता अभियानका लागि आवश्यक बजेट विनियोजन गरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए । अर्को प्रशङ्गमा मुख्यमन्त्री सिंहले संयुक्त गठवन्धनको सरकार हुँदा काम गर्न समस्या परेको गुनासो गरे । उनले काम गर्नुभन्दा सरकार टिकाउनकै लागि समय खर्चिनुुपरेको बताए ।

विद्यालयको हीरक जयन्ती समारोहलाई सम्वोधन गर्दै ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, निवर्तमान नगरप्रमुख मनोजकुमार देवकोटा, पूर्व प्रतिनिधिसभा सदस्य प्रमोद साहलगायतले मुख्यमन्त्री सिंहलाई ईश्वरपुर नगरपालिकाको शिक्षा, कृषि, पयर्टनलगायतको क्षेत्रमा प्रदेश सरकारको तर्फबाट सहयोग गरिदिन अनुरोध गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बडालको अध्यक्षतामा आयोजित समारोहमा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी, प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख लालमणि आचार्य, सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख कालिदास धौबजी, ईश्वरपुरका उपप्रमुख रन्जिता देवी चौधरी, निवर्तमान नगरउपप्रमुख एकाबती देवी चौधरीलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विद्यालयका विद्यार्थी, थारु कलाकार र सिन्धुली कलाघरका कलाकारलगायतको उपस्थितिमा साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक सीताराम दाहालले जानकारी दिए । उनका अनुसार कार्यक्रममा विद्यालयले पूर्व तथा वर्तमान शिक्षक, पूर्व व्यवस्थापन समितिका अध्यक्ष, जग्गादाता, अन्य सहयोगी, नृत्य प्रतियोगितामा उत्कृट विद्यालय लगायतलाई सम्मान तथा पुरस्कृत समेत गरेको छ ।