हरिवन, १८ माघ – सोनाम ल्होछारको अवसरमा सर्लाहीको हरिवन र बागमती नगरपालिकाले आज पनि स्थानीय बिदा दिएका छन् ।
तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछारको अवसरमा यि दुई पालिकाले आज दोस्रो दिन पनि बिदा दिएका हुन् । यो पर्वको अवसरमा संघीय सरकारले हिजो देशभर नै बिदा दिएको थियो ।
तामाङ समुदायको बाहुल्यता रहेको बागमती र हरिवन नगरपालिकाले भने आज थप एक दिन आ–आफ्नो पालिकामा बिदा दिएका हुन् । यि दुई पालिकामा आज नगरपालिका, वडा कार्यालय, मातहतका अन्य कार्यालय र विद्यालय बन्द रहेका छन् ।
बैंक तथा वित्तीय संस्था भने खुलेका छन् ।
सोनाम ल्होछारअघि माघ १६ गते शहीद दिवसका अवसरमा पनि देशभर बिदा दिइएको थियो ।
सोनाम ल्होछार हिजो मनाइए पनि जिल्लाको बागमतीस्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा आज शुुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम गरिँदै छ ।
त्यस्तै हरिवन ५ घुर्कौली सिद्धार्थ टोलस्थित चापिनी खोला किनारमा आयोजित प्रथम सांँस्कृतिक महोत्सव आज सकिँदै छ ।