हरिवन, १७ माघ – तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछार आज सर्लाहीमा पनि धुमधामसँग मनाइएको छ ।
जिल्लाका तामाङ समुदायले शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम गरेर २८६१ औँ सोनामा ल्होसार पर्व हर्षोउल्लासपूर्वक मनाएका हुन् । तामाङ समुदायको बाहुल्यता रहेको लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकामा सोनाम ल्होछारको अवसरमा विविध कार्यक्रम सम्पन्न भएका छन् ।
नेपाल तामाङ घेदुङ सर्लाहीका अध्यक्ष वुद्ध लामाले तामाङ बाहुल्य प्रत्येक बस्तीमा खुसी साटासाट गर्दै महान पर्व सोनाम ल्होछार मनाइएको उज्यालो अभियानसँग बताए । उनका अनुसार घेदुुङको विभिन्न नगर तथा गाउँ कार्य समितिले सोनाम ल्होछारका कार्यक्रमहरु सम्पन्न गरेका छन् ।
तामाङ भेषभुषामा सजिएर अधिकांश सहभागी शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा सहभागी भएका छन् । सोनाम ल्होछारकै अवसरमा जिल्लाको हरिवन नगरपालिका–५, घुर्कौलीमा प्रथम घुर्कौली साँस्कृतिक महोत्सव हिजो बुधबारदेखि नै जारी रहेको छ ।
तामाङ समुदायको रहनसहन र सँस्कृति संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सव भोलीसम्म चल्ने कार्यक्रम संयोजक सिंहलाल योन्जनले बताए । जिल्लाको प्रमुख पर्यटकीयस्थल बागमती माछा पोखरी (भरत ताल) मा भोली बृहत साँस्कृतिक तथा शुभकामना आदानप्र्रदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक जय गोलेले बताए । उक्त तालमा सोनाम ल्होछारको अवसरमा वर्षेनि यस प्रकारको कार्यक्रम गरिँदै आएको छ ।
पर्वका अवसरमा बागमती माछापोखरी, बागमती वुद्ध स्तुपा, सर्लाही र रौतहटको सीमा नुनथर तथा सर्लाही जिल्लाभरका विभिन्न गुम्बामा आज दिनभर एकआपसमा खुसी साटासाट गरी पर्व मनाइएको स्थानीयले बताएका छन् ।
सोनाम ल्होछारको अवसरमा यहाँको हरिवन र बागमती नगरपालिकाले भोली शुक्रबार पनि स्थानीय बिदा दिएका छन् । पर्वको अवसरमा सकारले आज देशभर नै सार्वजनिक बिदा दिएको थियो ।