मलंगवा, ११ माघ – सर्लाहीमा प्रादेशिक अस्पताल मलंगवा र जानकीनगर स्वास्थ्य चौकीलाई लाखौँ मुल्यका स्वास्थ्य उपकरण प्राप्त भएको छ ।
हेल्पिङ ह्यान्ड फर रिलिफ एण्ड डेभलपमेन्ट (अमेरिका) ले प्रादेशिक अस्पताल मलंगवालाई ५४ लाख रुपियाँ र जानकीनगर स्वास्थ्य चौकीलाई ३४ लाख रुपियाँ बराबरको स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरेको हो । अस्पताल र स्वास्थ्य चौकीबाट बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्न सहजहोस् भनी बेडलगायतका औजारउपकरण र स्वास्थ्य सामग्री उपलब्ध गराइएको समन्वयकारी संस्था स्थानीय समाज विकास केन्द्र हजारबिघाका सल्लाहकार टेकबहादुर थापा (अर्जुन) ले जानकारी दिए ।
जानकीनगर स्वास्थ्य चौकीमा मधेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय र प्रादेशिक अस्पताल मलंगवामा पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारी र मधेश प्रदेशसभा सदस्य विमला अन्सारीको उपस्थितिमिा स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको हो ।
राहत तथा विकासको गतिविधिमा सरिक भइ सन् २०१८ देखि सन् २०२४ सम्ममा संस्थाले देशभर ७० करोड रुपियाँ बराबरको सरसामग्री सहयोग गरेको हेल्पिङ ह्यान्ड फर रिलिफ एण्ड डेभलपमेन्टका कार्यक्रम संयोजक जिब पोखरेलले बताए ।