बागमती, १० माघ – सर्लाहीको बागमती नगरपालिका–१०, निर्माण चोकमा आयोजित जिल्ला स्तरीय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि आयोजक क्रिएटिभ यूथ क्लब बागमती १० ले हात पारेको छ ।
नमूना ज्ञानोदय एकेडेमी बागमती ५ राजघाटलाई ४५ रनले पराजित गर्दै क्रिएटिभले उपाधि उचालेको हो । क्रिएटिभले दिएको २०१ रनको लक्ष्य पछ्याएको ज्ञानोदय १५६ रनमा समेटिन पुुग्यो । जितसँगै क्रिएटिभले ३० हजार रुपियाँ नगदसहित जिल्ला स्तरीय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी प्राप्त गरेको छ ।
उपबिजेता ज्ञानोदय एकेडेमीले भने १५ हजार रुपियाँमा चित्त बुुझाएको छ ।
प्रतियोगिताका बिजेता, उपबिजेता तथा उत्कृष्ट खेलाडीलाई आयोजक क्लबका अध्यक्ष ओमबहादुर कार्की, बागमती ८ का वडाध्यक्ष डम्बरबहादुर कार्की, बागमती १० का वडाध्यक्ष शेख जुुगैरलगायतले पुरस्कार वितरण गरेका छन् ।