logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

ईश्वरपुरमा ५ हजार ६ सय किशोरीलाई एचपीभी खोप लगाइने


  • उज्यालो अभियान

बयलवास, ०९ माघ – पाठेघरको मुखको क्यान्सरविरुद्ध सर्लाहीको ईश्वरपुर नगरपालिकाभित्र ५ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने भएको छ ।

एचपीभी खोप अभियान सम्वन्धी आज बयलवासस्थित नगरपालिकाको सभा हलमा आयोजित पालिका स्तरीय खोप समन्वय समिति तथा बहुनिकाय अभिमुखीकरण कार्यक्रममा ईश्वरपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुगेन्द्र महतोले नगरका १५ वटा वडाभित्र करिव ५ हजार ६ सय ५६ जना किशोरीलाई एचपीभी खोप लगाउने लक्ष्य रहेको जानकारी दिए । सरकारले विद्यालयमा पढ्ने कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका किशोरीलाई पाठेघरको मुखको क्यान्सर हुनबाट रोक्न एचपीभी खोप लगाउँदै छ ।

ईश्वरपुर नगरपालिकामा माघ २३ गतेदेखि २९ गतेसम्म पहिलो चरणको खोप कार्यक्रम संचालन हुने स्वास्थ्य शाखा संयोजक महतोले बताए । उनका अनुसार कक्षा ६ देखि १० सम्म पठनपाठन हुने प्रत्येक विद्यालयमा स्वास्थ्यकर्मी पुगेर छात्राहरुलाई खोप लगाउने छन् ।

एचपीभी खोप अभियान र खोपको महत्वबारे नगर अस्पताल ईश्वरपुरका मेडिकल अधिकृत डा. इन्द्रकुमार यादव र स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत सुशील झाले अभिमुखीकरणमा सहभागीलाई प्रष्ट पारेका छन् । डा. यादव र जनस्वास्थ्य अधिकृत झाले ढुक्क भएर एचपीभी खोप लगाउन अनुरोध गरेका छन् ।

ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले एचपीभी खोप अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन् ।

अभिमुखीकरणमा नगर उपप्रमुख रन्जिता देवि चौधरी, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य चौकीका इन्चार्ज, नगरपालिकाको विभिन्न शाखाका प्रमुख तथा कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।