हरिवन, ०७ माघ – सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चनी उद्योगले उखु किसानलाई ६० करोड रुपियाँ भुक्तानी दिएको छ ।
उद्योगले किसानलाई माघ २ गतेसम्म क्रसिङ गरिएको उखुको ६० करोड रुपियाँ भुक्तानी प्रदान गरिसकेको उद्योगका प्रशासकीय प्रवन्धक ठाकुरप्रसाद नेपालले जानकारी दिए । इन्दुशङ्करले गत मङ्सिर २७ गतेबाट उखु क्रसिङ सुरु गरेको थियो ।
उद्योगले किसानलाई उखु लिएको एक हप्ताभित्रै भुक्तानी दिइरहेको प्रशासकीय प्रवन्धक नेपालले बताए । उनका अनुसार उद्योगले माघ ६ गतेसम्ममा ११ लाख ७४ हजार ४०० क्विन्टल उखु क्रसिङ गरिसकेको छ ।
उद्योगले यो वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । अन्य चिनी उद्योगको तुलनामा समयमै भुक्तानी दिने परिचय बनाएको इन्दुुशङ्करले यो वर्ष उखुु बिक्री गरेको एक हप्ताभित्रै भुक्तानी दिँदा किसान खुसी भएका छन् ।
उद्योगले किसानलाई प्रोत्साहन गर्न उन्नत जातको उखुको बीउ प्रदान गर्ने, माटोको परीक्षण, उपकरण हस्तान्तरणलगायतका सहयोग गर्दै आइरहेको छ ।