लालबन्दी, ०५ माघ – गोलभेँडा प्रशस्त उत्पादन हुने समयमा काठमाडौँलगायत देशका मुख्य बजारमा भारतीय गोलभेँडा अत्यधिक भित्रिँदा सर्लाहीका किसान मारमा परेका छन् ।
बजारमा सस्तो मूल्यका भारतीय गोलभेँडा छ्याछ्याप्ती भएसँगै यहाँको उत्पादनले बजार नपाएको किसानले गुनासो गरेका छन् । गोलभेँडा उत्पादनमा ख्याती कमाएको सर्लाहीका किसानले अहिले गोलभेँडा प्रतिकेजी २० देखि २२ रुपियाँ (प्रतिक्रेट ५०० देखि ५५०) रुपियाँसम्ममा बिक्री गरिरहेका छन् ।
गोलभेँडा निकासी हुने मुख्य बजारका रुपमा रहेको काठमाडौँमा भारतीय गोलभेँडा धेरै आउँदा यहाँको गोलभेँडा काठमाडौँ पठाउन नै समस्या पर्न थालेको व्यापारीको भनाई छ । भारतीय सस्तो मूल्यको गोलभेँडासँग प्रतिस्पर्धा गर्नै मुस्किल परेको भन्दै व्यापारीले गोलभेँडाको मूल्य घटाएपछि किसानलाई मार परेको हो ।
व्यावसायिक गोलभेँडा खेती हुने सर्लाहीको उत्तरी भेगमा पर्ने लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाका किसानले फलाएको गोलभेँडा लालबन्दी, नवलपुर र तीनघरे बजारमा ल्याएर बिक्री गर्ने गरेका छन् । यि तीनवटा बजारबाट व्यापारीले दैनिक दुई हजारदेखि दुई हजार २०० क्रेटसम्म गोलभेँडा काठमाडौँ पठाउने गरेका छन् ।
काठमाडौँमा भारतीय गोलभेँडा सस्तोमा बिक्री हुने भन्दै आफूले उत्पादन गरेर बजार ल्याएको गोलभेँडा व्यापारीले सस्तो मूल्य लगाउने गरेका हरिवन नगरपालिका–२, अत्रौलीका किसान गज्रसिंह दोङले गुनासो गरे । भारत सरकारले सहुलियत दिएर उत्पादन गरेको गोलभेँडासँग यहाँका किसानले महँगो मल, बिउबिजन, औषधि किनेर उत्पादन गरेको गोलभेँडाले प्रतिस्पर्धा गर्नै नसक्ने अवस्था रहेको अगुवा किसान दोङको बताए ।
भारतीय गोलभेँडाका कारण यहाँको ‘लोकल’ गोलभेँडाको मूल्य निरन्तर ओरालो लाग्दा किसानलाई किटनाशक औषधि किन्दा हुने खर्च र गोलभेँडा टिप्न लगाइने कामदारको ज्याला उठाउन नै मुस्किल पर्ने अवस्था आएको छ । लालबन्दी नगरपालिका–१०, चन्द्रपुरका किसान दीपमान घिसिङले एक महिनाअघि प्रतिक्रेट दुई हजार रुपियाँसम्ममा बिक्री भएको गोलभेँडा अहिले क्रेटको ५०० रुपियाँमा बिक्री गर्नुपर्ने अवस्था आएको सुनाए ।
यो वर्ष गत असोजको भीषण वर्षाले गोलभेँडाको बेर्ना नष्ट गर्दा किसानले दोहो¥याएर बेर्ना सारेर गोलभेँडाको बोट हुर्काएका थिए । बजारमा मुल्य ओरालो लाग्दै जाँदा सम्पूर्ण किसानको खेतमा गोलभेँडा पाकेर राताम्मे भएको छ ।
पाकेर राताम्मे भएको गोलभेँडा तत्काल बिक्री नगरे भण्डारण गर्ने चिस्यान केन्द्रको अभावमा तत्काल नष्ट भएर जाने अवस्था रहेको किसानले गुनासो गरेका छन् । यहाँबाट काठमाडौँ तरकारी निकासी गर्ने व्यापारीले महँगोमा किनेर लगेको गोलभेँडा काठमाडौँमा छ्यापछ्याप्ती भित्रिएको सस्तो मूल्यका भारतीय गोलभेँडासँग प्रतिस्पर्धा गरेर बेच्न नै गाह्रो हुने बताएका छन् ।
सासापुरस्थित तीनघरे लच्कामा लाग्ने गोलभेँडा बजारका व्यापारी उमेश चौधरीले अहिले यहाँको महँगो गोलभेँडा काठमाडौँ पु¥याएर बिक्री गर्न अत्यन्त जोखिम रहेको बताए । यहाँबाट महँगो ढुवानी खर्च बेहोरेर लगिएको गोलभेँडा भारतीय गोलभेँडा धेरै भित्रिएको बेला बिक्री गर्न नै हम्मेहम्मे पर्ने चौधरीको भनाई छ ।