हरिपुर, ०५ माघ – सर्लाहीको हरिपुर नगरपालिका–७, स्थित पचगछियामा आयोजित थारु साँस्कृतिक नृत्य प्रतिस्पर्धामा थारु कल्याणकारी गाउँ इकाइ हरिभवन पहिलो भएको छ ।
गएराति सम्पन्न प्रतियोगितामा थारु भेषभुुषासहित उत्कृष्ट नृत्य प्रस्तुत गर्ने लालबन्दी ४ मा गठित हरिभवन गाउँ इकाइ पहिलो बन्न सफल भएको हो । हरिभवनलाई पुरस्कारस्वरुप २० हजार ५०० रुपियाँ नगदसहित दुई तोला चाँदी र कप प्रदान गरिएको आयोजक थारु कला सँस्कृति आयोजना समिति पचगछियाले जनाएको छ ।
यस्तै थारु साँस्कृतिक नृत्यमा दोस्रो हुने थारु कल्याणकारी गाउँ इकाइ हरिपुर ७ पचगछियालाई १५ हजार ५०० रुपियाँ नगद तथा एक तोला चाँदी र तेस्रो हुने थारु कल्याणकारी गाउँ इकाइ ईश्वरपुर १ पोखरीलाई १० हजार ५०० रुपियाँ नगद र आधा तोला चाँदी प्रदान गरिएको आयोजकका अरविन्द चौधरीले जानकारी दिए । पहिलो पुुरस्कार अक्षर पाठाशाला हरिपुर, दोस्रो पुरस्कार डा. अनिल चौधरी र तेस्रो पुरस्कार कृष्ण बछारले प्रायोजन गरेका आयोजकले जनाएको छ ।
नृत्य प्रतियोगितामा सहभागी अन्य गाउँ इकाइलाई ५०५ रुपियाँ नगदसहित पुरस्कृत गरिएको छ । यस्तै कार्यक्रममा थारु डाला डलिया प्रतियोगितामा पहिलो हुने मीना देविलाई पाँच हजार पाँच रुपियाँ, दोस्रो हुने श्रेया चौधरीलाई तीन हजार पाँच रुपियाँ र तेस्रो हुने कृष्ण चौधरीलाई दुई हजार पाँच रुपियाँ प्रदान गरिएको छ ।
डाला डलियामा पहिलो, दोस्रो र तेस्रो हुने तीनै जना हरिपुर ७ पचगछियाका स्थानीय हुन् । डाला डलियामा समेत सहभागी सबैलाई प्रोत्साहनस्वरुप नगद पुरस्कार प्रदान गरिएको छ । थारु साँस्कृतिक नृत्य र डाला डलिया प्रतिस्पर्धासँगै पचगछियामा माघ २ गतेदेखि सुरु भएको सातौँ राष्ट्रिय तिला संक्रान्त (माघी) महोत्सवको समापन समेत गरिएको कार्यक्रममा सहभागी नाथुराम चौधरीले बताए ।
थारु समुदायको नयाँ वर्ष २६४८ को अवसरमा ‘नेपालके आदिवासी जनजातिके शान, थारु कला सँस्कृति हमर पहिचान’ भन्ने नारासहित आयोजित महोत्सवको समापन गएिको हो ।
महोत्सव आयोजना गर्न हरिपुर ७ को वडा कार्यालयले १ लाख रुपैयाँ तथा नगरपालिकाले समेत आर्थिक सहयोग गरेको हरिपुर नगरपालिका ७ का वडाध्यक्ष मनोज कुमार चौधरीले जानकारी दिए ।
आयोजक समितिका अध्यक्ष ललित चौधरी (बम्बु) को अध्यक्षतामा आयोजित महोत्सवको समापन समारोहमा प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी, चन्दा चौधरी, संविधान सभा सदस्य रामचन्द्र चौधरी, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियार, अन्य जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, जिल्लाका सुरक्षा प्रमुखलगायतको आतिथ्यता रहेको थियो ।