logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

इन्दुशंकरले गर्यो, किसानलाई २८ करोड भुक्तानी


  • उज्यालो अभियान

हरिवन, २३ पुस – सर्लाहीको हरिवन स्थित इन्दुशंकर चिनी उद्योगले किसानलाई उखु दिएको सात दिनमै भुक्तानी गरेपछि किसानहरु खुशी भएका छन् ।

विगत वर्षहरुमा पनि सर्लाही सहित मुलुकभरकै अन्य चिनी उद्योगहरुको तुलनामा समयमै भुक्तानी दिएर अलग्गै छाप बनाएको इन्दुशंकरले यो वर्ष उखु बुझाएको हप्ता दिनभित्रै किसानको बैंक खातामा पैसा जम्मा गरिरहेको छ । उखु बेचेको एक हप्तामै खातामा पैसा आएपछि किसान खुसी छन् । कविलासी नगरपालिका-२ पिपरियाका किसान सुरेन्द्र रायले ईन्दुशंकर चिनी उद्योगबाट भुक्तानी पाईरहेको जानकारी दिए । उनले समयमा भुक्तानी पाउ“दा आफुसहित यस क्षेत्रका किसान खुसी रहेको बताए ।

सर्लाहीको बगदह स्थित महालक्ष्मी सुगर मिल र धनकौल स्थित अन्नपूर्ण सुगर मिल सञ्चालनमा रहेपनि भुक्तानीको समस्या हुने भएकाले किसानहरु भने हरेक वर्ष हरिवन स्थित इन्दुशंकरमै उखु दिन तँछाडमँछाड गरिरहेका हुन्छन् । यद्यपी यसवर्ष उखु अभावका कारण प्राय चिनी उद्योगहरुबीच क्रसिङ बढाउनका लागि निकै नै प्रतिष्पर्धा रहेकाले किसानलाई समयमै भुक्तानी गर्नुपर्ने अवस्था रहेको उखु उत्पादक संघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए ।

इन्दुशंकरका प्रशासकीय प्रवन्धक ठाकुर नेपालले किसानहरुसँग एक महिना भित्र भुक्तानीको सहमती भएपनि उद्योगले एक हप्ताभित्रै भुक्तानी गरिरहेको जानकारी दिए । उद्योगले पुष २० गतेसम्म किसानबाट ६ लाख १७ हजार २ सय क्विन्टल उखु खरिद गरि क्रसिङ गरिएकोमा पुष १७ गतेसम्मको उखुको २८ करोड रुपैया भुक्तानी गरिसकेको छ । मंसिर २७ गतेबाट सञ्चालनमा आएको उद्योगले यो तेस्रो पटक किसानको खातामा रकम जम्मा गरेको हो । प्रबन्धक नेपालका अनुसार ईन्दुशंकरले उखु उत्पादन बढाउनकालागि उन्नत जातको बीउ, मल, विषादीको प्रयोगको साथ साथै तालिम, गोष्ठी तथा अन्तरबाली उत्पादन प्रोत्साहन अभियानको रुपमा लगिरहेकाे छ ।

सरकारले निर्धारण गरेको मूल्य अनुसार उद्योगले उखु किसानलाई प्रतिक्विन्टल ५८५ रुपैयाका दरले भुक्तानी गर्दै आइरहेको छ । यो वर्ष चिनी मिलले ५८५ र सरकारले अनुदानबापत ७० रुपैया प्रदान गर्ने गरी उखुको मूल्य प्रतिक्विन्टल ६५५ रुपैया निर्धारण भएको छ ।