बलरा, १० पुस – पालिकाभित्र उखुको तौल काँटा राख्न निषेध गरिएको विषयमा हिजो सर्लाहीको बलरा नगरपालिकामा जनप्रतिनिधि, चिनी उद्योगी र किसानबिच छलफल भएको छ ।
चिनी मिलहरुले राख्ने उखुको तौल काँटामा किसानको उखु तौलिँदा तौलमा व्यापक ठगी गर्ने, बिचौलिया हाबी हुने र किसानले पाउने अनुदानमा पनि चलखेल हुने गरेको भन्दै बलरा, गोडैता र रामनगरले आफ्नो पालिकाभित्र कुनै पनि चिनी उद्योगलाई तौल काँटा राख्न दिएका छैनन् । किसान आफैले गाडीको प्रवन्ध गरी आफूलाई इच्छा लागेको मिलमा उखु लैजान सक्ने निर्णय गरिएको छ ।
आफ्नो काँटा राख्न नदिएपछि मार परेको भन्दै चिनी मिलका संचालकले गुनासो गरेपछि बलराका नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाले हिजो उद्योगी र किसानलाई सँगै राखेर छलफल गरेका हुन् । नगरप्रमुख कुशवाहाले विज्ञ बोलाएर उखुको तौल काँटा परीक्षण गर्ने र चिनी मिलले एक हप्ताभित्र किसानले बेचेको उखुको पैसा दिने ग्यारेन्टी गरे जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी काँटा राख्न निषेध गरिएको निर्णयबारे सोच्न सकिने बताएका छन् ।
हिजोको छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि तत्काललाई उखुको काँटा राख्न निषेध गरिएको निर्णय यथावत् नै रहने भएको छ ।
छलफलमा इन्दुुशंकर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग बगदह, अन्नपूर्ण चिनी उद्योग धनकौल र एभरेष्ट चिनी उद्योग रामनगर महोत्तरीका संचालक तथा प्रतिनिधि सहभागी रहेका थिए ।