logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

तीन पालिकामा उखु तौल काँटा राख्न निषेध, चिनी मिलले पैसा नदिने चिन्ता


  • उज्यालो अभियान

गोडैता, ०४ पुस – सर्लाहीका तीनवटा पालिकामा उखु सङ्कलनका लागि तौल काँटा राख्न पूर्णरुपले निषेध गरिएको छ ।

दक्षिणवर्ती भेगस्थित बलरा नगरपालिका, गोडैता नगरपालिका र रामनगर गाउँपालिकाले आफ्नो पालिकाभित्र चिनी उद्योगलाई तौल काँटा राखेर उखु सङ्कलन गर्न रोक लगाएका छन् । चिनी मिलले उखु तौल काँटा राख्दा किसान ठगिने तर बिचौलिया भने मालामाल हुने गरेको भन्दै यि तीन पालिकाले उखु तौल काँटा राख्न रोक लगाएका हुन् ।

तीनवटै पालिकाले आफ्नो पालिकाभित्र काँटा राखेर उखु जोख्ने र मिल आफैले गाडी पठाएर उखु उठाउने कार्य समेत बन्द गराएका छन् । चिनी उद्योगले काँटा राख्दा बिचौलिया सक्रिय भएर उखुको तौलमा ठगी गर्ने र किसानलाई सरकारले निर्धारण गरेको उखुको मूूल्य भन्दा कम मूल्य दिएर ठगी गर्ने गरेको गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले उज्यालो अभियानसँग बताए ।

बिचौलियाले किसानलाई सरकारले तोकेको भन्दा थोरै मूूल्य राखेर नगदै पैसा दिने र उक्त उखु आफ्नो नाममा लेखाएर सरकारी अनुदानको रकम समेत खाने गरेको पाइएको नगरप्रमुख यादवको भनाई छ । पालिकाले निषेध गरेपछि जिल्लाभित्र तथा बाहिरी जिल्लाका कुनै पनि चिनी उद्योगले यो वर्षदेखि बलरा, गोडैता र रामनगरमा उखु तौल काँटा राख्न पाएका छैनन् ।

किसानले आफै सवारी साधनको व्यवस्था गरी आफूलाई इच्छा लागेको मिलमा लगेर उखु बिक्री गरिरहेका छन् । केही किसानले भने स्थानीय नेताबाट तौल काँटा राख्न नदिने र चिनी मिलसँग पैसा लिएर आफूले भनेकै चिनी मिलमा लगेर उखुु दिन बाध्य पारिएको गुनासो गरेका छन् ।

रामनगर गाउँपालिका–४, बहुुअर्वाका किसान रामनरेश महतोले नेताले पैसा लिएर आफुुहरुको एरियाका किसानलाई महालक्ष्मी चिनी उद्योग बगदहमा उखुु बेच्न बाध्य पारेको आरोप लगाए । महालक्ष्मीले अघिल्लो वर्षकै भुक्तानी दिन बाँकी रहेको तर जवरजस्ती सोही उद्योगमा लगेर उखु बिक्री गर्न बाध्य पारिएको उनको गुनासो छ ।

किसानको एक समूहले उखु बिक्रीका सम्वन्धमा अहिले उत्पन्न विवाद समाधानको माग राख्दै स्थानीय प्रशासन गुहार्ने तयारी गरेको छ । किसानले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापन पत्र बुुझाएर ध्यानाकर्षण गराउने तयारी गरेका हुुन् ।

संविधान सभाका सदस्य शिवपुजन रायले नेताले पैसा खाएर आफूूले भनेकै चिनी मिलमा उखु बुुझाउन बाध्य पारेको भन्ने आरोप सत्य नभएको दावी गरेका छन् । आफूूलाई समेत बगदह चिनी मिलसँग मिलेको आरोप लागेपछि आफूूहरुले सकेसम्म आफ्नै ठाउँको चिनी उद्योगलाई उखुु दिन अनुरोध गरेपनि किसान जुनसुकै चिनी उद्योगमा लगेर उखु बिक्री गर्न स्वतन्त्र रहेका यादवको भनाई छ ।

उखुको तौल काँटा राखेर किसानलाई तौल र अनुदानको रकम दुुबैमा ठगी गर्न सक्रिय व्यक्तिले मात्रै काँटा निषेध गर्ने निर्णयको विरोध गरेका उनको दावी छ । बलरा, गोडैता र रामनगरका किसानलाई पायक पर्ने गरी बगदहमा चिनी मिल सञ्चालनमा रहेको र त्यहाँ स्थानीय २०० भन्दा बढी कामदारले रोजगार समेत पाइरहेकाले गाउँठाउँकै उद्योगलाई प्रोत्साहन गर्न यस्तो निर्णय गरिएको संविधान सभा सदस्य यादवको भनाई छ ।

सर्लाहीमा इन्दुशङ्कर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौल गरी तीनवटा चिनी मिल संचालनमा रहेका छन् । यि तीन उद्योगमध्ये इन्दुुशङ्करले बेलैमा भुुक्तानी गरेपनि महालक्ष्मी र अन्नपूर्णबाट अघिल्ला वर्षमा बेचेको उखुुको पैसा अझै नपाएको गुनासो किसानले गरेका छन् ।

बाहिरका चिनी मिललाई काँटा राखेर उखु लैजान नदिन र गाउँठाउँकै चिनी मिललाई उखु दिन बाध्य पार्दा उखु बेचेको पैसा बेलैमा नपाउने चिन्ता थपिएको किसानले बताएका छन् । गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले १५/१५ दिनमा किसानको भुक्तानी दिन चिनी मिललाई चेतावनी दिइरहेको बताए ।

दक्षिणवर्ती भेगका तीन पालिकामा काँटा राख्न निषेध गरेपनि उत्तरी भेगस्थित इन्दुशङ्कर चिनी उद्योगले गोडैता, बलरा र रामनगरका किसान आफैले सवारीको व्यवस्था गरी सोझै मिलमा उखु ल्याइरहेका जनाएको छ । उद्योगका उखु प्रवन्धक योगनारायण रजकले तीनवटा पालिकाको निर्णयले उद्योगलाई कुनै असर नगरेको बताए ।

तौल काँटा राख्न नदिने र स्थानीय चिनी उद्योगलाई नै प्रोत्साहन गर्ने निर्णयले छिमेकी जिल्ला महोत्तरीको रामनगरमा रहेको एभरेष्ट चिनी मिल र रौतहटको डुमरियास्थित बाबा बैजुनाथ चिनी उद्योग प्रभावित भएका छन् ।