हरिवन, २३ मंसिर – सर्लाहीको हरिवनस्थित समृद्धि बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०८०/८१ मा ९५ लाख भन्दा बढी मुनाफा आर्जन गरेको छ ।
हिजो सम्पन्न १७ औँ वार्षिक साधारण सभामा संस्थाले एक वर्षभरमा २२ करोड ३० लाख २० हजार ९७१ रुपैयाँ कूल कारोवार गरी ९५ लाख १३ हजार ८३८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको जानकारी गराइएको हो । संस्थाले अघिल्लो वर्ष भन्दा १७ लाख ४७ हजार ३२१ रुपैयाँ खुद मुनाफा बढाएको छ । हरिवन नगरपालिका ११ मा रहेको सनराईज आवासिय विद्यालयको प्राङ्गणमा संस्थाका अध्यक्ष ताराराज पन्त (अर्जुन) को अध्यक्षता तथा हरिवन नगरपालिकाका प्रमुख रमेश बुुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा आयोजित १७ औँ साधारण सभाले संस्थाको चालू आर्थिक वर्ष २०८१/८२ को कार्ययोजना तथा वार्षिक अनुमानित आय–व्ययसहित लेखा परीक्षण प्रतिवेदन पारित गरेको जनाइएको छ ।
सभामा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान, इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख राजकुमार थापा, जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष मन्दिरा आचार्यलगायतको आतिथ्यता रहेको थियो । संस्थाका सचिव सुरेश भट्टराईको संचालन तथा उपाध्यक्ष डाकुरनाथ खतिवडाको स्वागतमा सम्पन्न कार्यक्रममा संस्थाका अवकाश प्राप्त व्यवस्थापक चिरन्जीवी भट्टराईसहित असल ऋणी, नियमित बचतकर्तालगायतलाई सम्मान गरिएको संस्थाका सहायक व्यवस्थापक योग्यहरि ढुंगेलले जानकारी दिए ।
साधारण सभाको बन्द सत्रले नयाँ नेतृत्व चयनका लागि संस्थाका पूर्व अध्यक्ष इन्द्र पाठकको नेतृत्वमा निर्वाचन समिति गठन गरेको छ ।