हरिवन, २० मंसिर – सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योग संचालन गर्ने तयारी गरिएको छ ।
उद्योग संचालनकै लागि हिजो डोङ्गा पूजा सम्पन्न गरिएको उखु प्रवन्धक योगनारायण रजकले जानकारी दिए । वर्षेनि उद्योगमा उखु क्रसिङ सुरु गर्नुअघि डोङ्गा पूजा गर्ने गरिन्छ । उद्योगका मालिक राजेशकुमार केडियाको उपस्थितिमा डोङ्गा पूजा सम्पन्न गरिएको हो ।
उद्योगले मंसिर २६ गतेदेखि उखु क्रसिङ अर्थात् उखुु पेलेर चिनी निकाल्ने काम सुरु गर्ने जनाएको छ । मंसिर २४/२५ गतेसम्म गढिमाई मेला रहेको र मेलाका बेला उखुु कम आउने भएकाले २६ गतेबाट मिल चलाउने निर्णय भएको उखु प्रवन्धक रजकले बताए । उनका अनुसार उद्योगले यो वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ ।
सर्लाहीका तीन चिनी उद्योगमध्ये महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौल केही साताअघि देखि नै संचालनमा छन् । पछिल्ला वर्षमा उखु खेती मासिँदै गएपछि चिनी उद्योगलाई उखु पाउनै असाध्य मुस्किल परिरहेको छ ।
उखुुको मूूल्यप्रति किसानले वर्षेनि आपत्ति जनाउँदै आएका छन् । यो वर्षका लागि उखुको मूूल्य प्रतिक्विन्टल ६५५ रुपैयाँ तोकिएको छ ।
उद्योगले ५८५ रुपैयाँ र सरकारले अनुदानबापत ७० रुपैयाँ प्रदान गर्ने निर्णय भएको छ ।