लालबन्दी, १२ मंसिर – सर्लाहीको लालबन्दीमा उखु खेती प्रवद्र्धनका लागि कृषकहरुको सीपमुलक आय अभिवृद्धि कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
नेपाल फार्मर्स एड्भाईजरी काउन्सिल प्रा.लि. सिनामंगल काठमाण्डौँको आयोजना तथा द नेपाल डिस्ट्रिलरिजरिज प्रा.लि. बालाजु काठमाण्डौँको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न गरेको हो। नेपाल कृषि अर्थशास्त्र समाजका सभापति तथा नेपाल सरकारका पूर्व सचिव डा. योगेन्द्र कुमार कार्कीको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको आयोजक संस्थाका काजिराम श्रेष्ठले जानकारी दिए।
लालबन्दी नगरपालिकाको वडा नम्बर ६ मा रहेको होटल युनाईटेडमा सम्पन्न भएको कार्यक्रममा सर्लाहीसहित धनुषा, महोत्तरी, रौतहट, बारा र पर्सा जिल्लाका ४० जना उखु किसान अगुवाहरु सहभागी भएका थिए । कार्यक्रममा सहभागीहरुलाई नेपालमा उखु खेतीको महत्व र सम्भावना, उखु बालीका प्रमुख रोग र किराहरु तथा तिनको ब्यवस्थापन, खुट्टि बालीको महत्व तथा ब्यवस्थापन र मलखाद, उखुका उत्कृष्ट जातहरु त्था उन्नत उत्पादन प्रविधि लगाएतका बिषयमा नार्कका बिज्ञहरुले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा धेरै उखु खेती गर्ने किसान, उत्कृष्ट किसानको रुपमा केहि उखु किसानहरुलाई प्रोत्साहन पुरस्कार समेत प्रदान गरिएको थियो । नेपालमा बिस्तारै उखु खेति गर्ने किसानको संख्या घट्दै गईरहेको अवस्थामा उनीहरुलाई नयाँ प्रजातीका बिउ बिजन, खेति गर्ने नयाँ नयाँ प्रविधि तथा तरिकाको बारेमा जानकारी दिँदै उखु खेति प्रति आकर्षित गर्नका लागी कार्यक्रमको आयोजना गरिएको नेपाल कृषि अर्थशास्त्र समाजका सभापति तथा नेपाल सरकारका पूर्व सचिव डा. कार्किले बताए ।
त्यसैगरि नेपालमा रमजन्य पदार्थ उत्पादनका लागी उखु अनिवार्य आवश्यक पर्ने, त्यसको लागी हाल भारतको भर पर्नु पर्ने अवस्था रहेकोले नेपालको पैसा बाहिर जानबाट रोक्ने उद्देश्यले यो कार्यक्रमहरु आयोजना गरिएको द नेपाल डिस्ट्रिलरिजरिज प्रा।लि।का प्रमुख प्रशासकिय अधिकृत तथा नेपाल सरकारको पूर्व सह–सचीव जनकराज रेग्मीले जानकारी दिए।
कार्यक्रममा आफ्नो भनाई राख्दै लालबन्दी नगर प्रमुख अधिकारीले किसानको क्षमता अभिवृद्धिका लागि आयोजित यस्तो कार्यक्रम आयोजना भएकोमा खुसी व्यक्त गरे ।