गोडैता, २० कात्तिक – सर्लाही प्रहरीले हातहतियार र नक्कली नोटसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बसबिटा ग्रामपन्चायत रसुलपुर गाउँ बस्ने २६ वर्षीय कुन्नु पटेल र सोही ठाउँका ३० वर्षीय मुकेश पटेल रहेका छन् । उनीहरुलाई सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२, मधुवनीबाट पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंहले जानकारी दिए ।
प्रहरीले पटेल द्वयको साथबाट फलामको घरेलु नलकटुवा पेस्तोल एक थान, के एफ अईट एमएम लेखिएको छ राउण्ड र के एफ नाइन एमएम लेखिएको चार राउण्ड गोली बरामद गरेको छ । त्यस्तै १० वटा बण्डलमा रहेको एक हजार दरको नक्कली नोट र नोटभित्र हजारको नोटकै आकारमा काटिएको कागज बरामद भएको प्रहरी उपरीक्षक सिंहले बताए ।
एसपी सिंहका अनुसार कुन्नु र मुकेश दुवै जना नक्कली नोटको कारोवारमा सक्रिय गिरोहका सदस्य हुन् । प्रहरीसँगको प्रारम्भिक बयानमा उनीहरुले कुनै कुरा खुलाउन मानेका छैनन् ।
भारतको मेजरगन्जबाट सर्लाहीको गोडैतास्थित मधुवनीगाउँतर्फ आउने सडकमा अवैध हातहतियार र अवैध पैसाको कारोवार भइरहेको सूचना पाएपछि प्रहरी टोली परिचालन गरिएको थियो । कुन्नु र मुकेश पैदल हिँडेर नेपालतर्फ आउँदै गर्दा हातहतियार र नक्कली टोलसहित पक्राउ परेका हुन् ।
दुवै जनाविरुद्ध सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गोडैता नगरपालिकाको विभिन्न क्षेत्रबाट प्रहरीले बारम्बार नक्कली नोट र यसको कारोवारमा संलग्न व्यक्तिलाई पक्राउ गरिरहेको छ ।