लालबन्दी, १६ कात्तिक – सर्लाहीका बजारमा तिहारका सरसामग्रीको किनबेच बढेको छ ।
जिल्लाको लालबन्दी, हरिवन, बयलवास, बरहथवा, मलङ्गवालगायतका प्रत्येक हाटबजारमा तिहारमा प्रयोग हुने सरसामग्रीको व्यापारमा वृद्धि भएको हो । भाइमसला, सप्तरङ्गी टीका, फलफूल, माला, तेल, खाद्यान्न, कपडालगायत किनमेल गर्नेको बजारमा भिडभाड देखिन्छ ।
यो वर्ष तिहारका बेला भाइमसलासहित अन्य सामग्री असाध्य महँगो रहेको सर्वसाधारणले गुनासो गरेका छन् । लालबन्दी नगरपालिका-१३, की गृहणी दिलमाया थोकरले भाइमसलाको प्रत्येक सामग्रीमा गत वर्षको तुलनामा २० देखि ३० रुपियाँसम्म बढी मूल्य लिइएको गुनासो गरिन् ।
लालबन्दी बजारमा किनमेलका लागि आउनुभएकी थोकरले चाडपर्वको मौका छोपेर पसलैपिच्छे मनपरी ढङ्गले मूल्य लिइएको उज्यालोसँग बताईन् । मुख्य पर्व तिहारमा बजारका प्रत्येकजसो सरसामग्री असाध्य महँगो हुँदा न्यून आय भएका परिवार प्रभावित बनेका छन् ।
यसरी जथाभावी मूल्य लिइँदा बजार अनुगमन भने हुन सकेको छैन् । व्यापारीले आफूखुसी मूल्य लिँदा ठगिएको गुनासो प्रत्येक सर्वसाधारणबाट सुन्ने गरिन्छ ।
सँधै किनमेल गरिरहने सरसामग्रीको समेत तिहारको मौकामा अचाक्ली मूल्य बढाइएको गुनासो सर्वसाधारणको छ । तिहारका बेला भाँडावर्तनमा झनै मनपरी मूल्य लिइएको गुनासो गर्ने धेरै भेटिन्छन् ।
बजार अनुगमनको जिम्मेवारी पाएका स्थानीय तहले चाडपर्वका बेला आम नागरिक ठगिँदा समेत बजार अनुगमनमा कुनै चासो देखाएका छैनन् । लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिनले दशैँअघि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा दुई पटक जिल्ला प्रशासन कार्यालयबाट खटिएको बजार अनुगमन टोलीमा पालिकाबाट प्रतिनिधि पठाएर बजार अनुगमन गरिएको तर पालिका आफैले अनुगमन गर्न नसकेको बताईन् । उनले तिहारअघि पालिकाले नेतृत्व लिएर स्थानीय प्रशासन, उद्योग वाणिज्य सङ्घलगायत निकायसँग समन्वय गरी बजार अनुगमनको तयारी गरेपनि विविध कारणले अनुगमन गर्न नसकिएको स्वीकार गरिन् ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले दशैँअघि स्थानीय तह, उद्योग वाणिज्य सङ्घलगायत निकायसँग समन्वय गरी मलङ्गवा, लालबन्दी, हरिवनलगायत स्थनमा बजार अनुगमन गरिएको जनायो । औपचारिताका लागि गरिने त्यसप्रकारको बजार अनुगमन प्रभावकारी हुन नसकेको गुनासो सर्वसाधारणको छ ।
बजारमा अहिले तिहारका बेला हाक्काहाक्की कालोबजारी र जथाभावी मूल्य लिनेलाई कारवाही हुन नसकेको सर्वसाधारणको भनाई छ ।