लालबन्दी, १३ कात्तिक – सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दीमा आयोजित सातौं नगर स्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि वडा नं. ८ ले जितेको छ ।
वडा नं. २ लाई सर्डन डेथमा पराजित गर्दै लालबन्दी ८ ले पहिलो पटक वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि उचालेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट दुई÷दुई गोलको बराबरी भएपछि ट्राइबे्रकरमार्फत खेलको नतिजा निकालिएको आयोजक लालबन्दी ३ को वडा कार्यालयले जनाएको छ । बिजेता वडा नं. ८ ले एक लाख ११ हजार १११ रुपियाँ नगदसहित ट्रफी उचालेको छ ।
उपबिजेता वडा नं. २ ले भने ५५ हजार ५५५ रुपियाँमा चित्त बुझाएको छ । प्रतियोगितामा तेस्रो भएको लालबन्दी ९ लाई ३१ हजार ३३३ रुपियाँ प्रदान गरिएको छ ।
प्रतियोगिताका बिजेता, उपबिजेता, तेस्रो हुने टिमसहित विभिन्न विधामा उत्कृष्ट घोषित भएका खेलाडीलाई लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पन्जियार, ईश्वरपुर नगरपालिकाकी उपप्रमुख रन्जितादेवी चौधरी, लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेलगायत भएर पुरस्कार वितरण गरेका छन् ।