logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

साना किसान कृषि सहकारी संस्था पिडारीको २६ औं वार्षिक साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

पिडारी, १० कात्तिक – सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीस्थित साना किसान कृषि सहकारी संस्थाको आज २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष श्रीनारायण राय यादवको अध्यक्षता तथा जिल्ला कृषि संघका अध्यक्ष मानबहादुर खड्काको प्रमुख आतिथ्यतामा पिडारीस्थित रामलगन माध्यमिक विद्यालयको प्राङ्गणमा साधारण सभा सम्पन्न भएको हो । संस्थाका प्रवन्धक सुदिष्ठ नारायण ठाकुरले संचालन गरेका कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय बर्दिबासका प्रमुख युवराज गैरे विशिष्ट अतिथिको रुपमा उपस्थित थिए ।

हरिपुर नगरपालिका–९ का वडाध्यक्ष विश्वनाथ राय, कविलासी नगरपालिका – ४ का वडाध्यक्ष गिरधारी राय, साना किसान कृषि सहकारी संस्था गोडैताका अध्यक्ष विनय कुमार झा, साना किसान वेल्हिका अध्यक्ष रामनारायण राउत, पिडारीका पुर्व वडाध्यक्ष हरिनाथ प्रसाद साह सहित संचालक र कर्मचारीहरुको समेत आतिथ्यता रहेको थियो ।

संस्थाले गएको आर्थिक वर्ष २०८०/०८१ मा १ करोड ६३ लाख ३० हजार १ सय १५ रुपैयाँ ३९ पैसा खुद मुनाफा आर्जन गरेको संस्थाका प्रवन्धक ठाकुरले जानकारी दिएका छन् । उनका अनुसार संस्थाले गएको आर्थिक वर्ष २०७९/०८०मा १ करोड ३४ लाख ६६ हजार २ सय ७९ रुपैयाँ ५८ पैसा खुद मुनाफा आर्जन गरेको थियो । गतबर्षको भन्दा यसबर्ष २८ लाख ६३ हजार ८३५ रुपैयाँ ८१ पैसाले मुनाफा बढेको प्रवन्धक ठाकुरले बताए ।

साना किसान कृषि सहकारी संस्था पिडारीले हरिपुर नगरपालिकाको १ र ९ नम्बर वडा, कविलासी नगरपालिकाको १,२,४,५ र बरहथवा नगरपालिकाको वडा नम्बर १६ लाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ । संस्थामा ७ सय ५९ महिला सदस्य तथा पुरुष ५ सय ६६ गरी १ हजार ३ सय २५ सदस्य रहेका संस्थाले जनाएको छ ।