logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

तलब माग्दै शिक्षकद्वारा नगरपालिका घेराउ


  • उज्यालो अभियान

कविलासी, ०८ कात्तिक – सर्लाहीको कविलासी नगरपालिकाका शिक्षकले साउनदेखि तलब नपाएपछि हिजो नगरपालिका कार्यालय घेराउ गरेका छन् ।

दशैँमा तलब नपाएका शिक्षक तिहार र छठमा समेत तलब नपाउने स्थिति सिर्जना भएपछि आन्दोलित बनेका हुन् । कविलासी नगरपालिका–१, पिपरियास्थित बाल गोविन्द जनता माध्यमिक विद्यालयका शिक्षक वीरेन्द्रप्रसाद साहले मुख्य चाडबाडमा समेत तलब नपाउने अवस्था सिर्जना भएपछि बाध्य भई आन्दोलनमा होमिनुपरेको गुनासो पोखे ।

कविलासी नगरपालिकाभित्रका विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकले आज बिहीबारदेखि विद्यालय पूर्णरुपमा बन्द गरेर नगरपालिका कार्यालयमा धर्ना बस्ने निर्णय गरेका छन् । कविलासी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विष्णुु यादव पालिकाको कार्यालय छाडेर हिँडेपछि कविलासीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छैनन् ।

जनप्रतिनिधिबिच किचलो बढ्दा अधिकृत यादवले कविलासी नगरपालिका छाडेका हुन् । नगरप्रमुख ब्रह्मदेव रायले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन मन्त्रालयमा बारम्बार आग्रह गर्दा पनि सुनुवाई नभएको बताए ।

आजभोली भन्दै मन्त्रालयबाट बिलम्ब गरिँदा शिक्षक, कर्मचारी सबैको तलब रोकिएको उनले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा कविलासीमा अहिले स्वास्थ्य शाखाका कर्मचारी सन्जय झालाई निमित्तको जिम्मेवारी दिएर कार्यालय सन्चालन गरिएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका अनुसार कविलासी नगरपालिकासहित पर्सा गाउँपालिका, विष्णु गाउँपालिका र बसबरिया गाउँपालिकामा साउनदेखि तलब, भत्ता निकासा हुन सकेको छैन् ।