logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अनुदानको धानमा दाना लागेन, किसान मारमा


  • उज्यालो अभियान

लालबन्दी, ०८ कात्तिक – अनुदानमा बीउ किनेर रोपेका सर्लाहीका किसान धानमा दाना नलागेपछि मारमा परेका छन् ।

लालबन्दी नगरपालिका र बागमती नगरपालिकाका किसानले लगाएको साँवा मन्सुली सव–१ जातको धानमा दाना नलाग्ने समस्या देखिएको हो । यो जातको धानको बिउ नगरपालिकाले खरिद गरेर किसानलाई ५० प्रतिसत अनुदानमा वितरण गरेका थिए ।

लालबन्दीमा १० टन र बागमतीमा १३ टन धानको बीउ वितरण भएको पालिकाको कृषि शाखाले जनाएका छन् । लालबन्दी नगरपालिकामा जुटपानी, जियाजोर र रानिगञ्ज क्षेत्रका किसानले लगाएको धानमा दाना नलाग्ने समस्या देखिएको छ ।

लालबन्दी नगरपालिका–२, जुटपानीका किसान रामप्रसाद शिवाकोटीले नयाँ जातको धान राम्रो फल्ने आशमा हौसिएर रोपेपनि अन्तिममा आएर धान बालीमा दाना नै नलागेपछि छाँगाबाट खसे झैँ भएको बताए । “गत वर्ष १७ कठ्ठा खेतमा ५४ मन धान भित्र्याए तर यो वर्ष नयाँ जातको धान रोप्दा दाना नै लागेन,” शिवाकोटीले गुनासो पोख्दै भने, “पटक–पटक औषधि र भिटापन छिँटे तर जुनसुकै उपाय अपनाउँदा पनि धान दाना पसेन ।”

शिवाकोटीले धान पसाउँदा नै कुहिएको जस्तो भएर पसाएको र तीन छिमल (तीन पटक) धान पसाउँदै, बाला मर्दै गरेकाले अचम्मित भएको बताए । कृषि मन्त्रालयबाटै देशभरका पालिकालाई सिफारिस भएर आएको साँवा मन्सुली सव–१ जातको धानको बीउ लालबन्दी र बागमती नगरपालिकाले सहकारी संस्था, कृषक समूह र किसान स्वंयलाई वितरण गरेका थिए ।

लालबन्दी नगरपालिका–१२, जियाजोरका किसान मोहन घिमिरेले पाँच कठ्ठामा रोपेको साँवा मन्सुली सव–१ जातको धान पसाए पनि दाना नलागेर पगटा मात्रै रहेको बताए । “धेरै फल्ने र खान मिठो हुने आशमा नयाँ जातको धान रोप्यौँ तर अन्तिममा दाना नै लागेन,” उनले भने, “अघिल्ला वर्ष पाँच कठ्ठामा २५ मन धान फलेको थियो, यो वर्ष त कठ्ठामा एक मन पनि नआउने अवस्था छ ।”

नगरपालिकाबाट अनुदानमा बाँडिएको धानको बीउमा दाना नलागेपछि जियाजोर क्षेत्रका किसानले क्षतिपूर्तिको माग गर्दै लालबन्दी नगरपालिकाको कृषि शाखामा सामूहिक रुपमा निवेदन दिएका छन् ।

धानमा दाना नलागेपछि राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, धनुषा र बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहरभवन, काठमाडौंबाट कृषि प्राविधिकको टोली आएर स्थलगत निरीक्षण गरी फर्किएको छ ।

निरीक्षणमा आएका राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, धनुषाका प्राविधिक अधिकृत परमानन्द शर्माले धान पसाउने बेला असोज पहिलो साता केही दिन तापक्रम अत्यधिक बढेको र त्यसपछि तीन दिनसम्म अविरल वर्षा भएका कारण मौसम अनुकूल नहुँदा धानमा दाना नलागेको बताए । शर्माले भने,“धान पसाउने बेला ठूलो पानी परेर धानको फूल धोइदिएकाले राम्रोसँग परागसेचन हुन पाएन, त्यसैले धानमा दाना कम लागेको हो ।”

शर्माका अनुसार साँवा मन्सुली सव–१ जातको धान १४५ दिन अर्थात् मङ्सिर पहिलो वा दोस्रो हप्तासम्ममा पाक्छ । स्थलगत निरीक्षणमा आएको कृषि प्राविधिकको टोलीले यहाँका किसानले यो जातको धान चाँडो गरी रोपेको र बिचमा भारी वर्षा र उच्च तापक्रमले गर्दा समस्या उत्पन्न भएको प्रारम्भिक निष्कर्ष निकालेका छन् ।

कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रमुख देवानन्द रायले साँवा मन्सुली सव–१ जातको धानमा दाना नलाग्नेसँगै कालो पोके र गवारोको प्रकोप समेत देखिएकाले जिल्लामा धान उत्पादनमा कमी आउने देखिएको बताए । उनले कृषिविज्ञ सहितको टोली अनुगमन गरेर फर्किएको र टोलीले दिएको प्रतिवेदनका आधारमा स्थानीय, प्रदेश र सङ््घीय सरकारबाट पीडित किसानलाई क्षतिपूर्तिका लागि पहल गरिने जानकारी दिए ।
लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले अघिल्ला वर्षहरुमा अनुदानमा धानको बीउ वितरण गर्दा कुनै समस्या नआए पनि यो वर्ष साँवा मन्सुली सव–१ जातको धानमा समस्या आएको बताए । उनका अनुसार लालबन्दी नगरभित्र यो जातको धानमा ५० देखि ९० प्रतिसतसम्म दाना नलाग्ने समस्या देखिएको छ ।

बागमती नगरपालिकाको कृषि शाखाका प्रमुख अवद्येध झाले बागमती, शङ्करपुर, सोल्टी, राजघाटलगायत क्षेत्रमा लगाइएको धान बालीमा दाना नलाग्ने समस्या रहेको बताए । बागमतीमा यो वर्ष उन्नतजातको मकै बालीमा पनि दाना नलाग्ने समस्या देखिएको थियो ।