हरिवन, ०५ कात्तिक – स्वास्थ्य क्षेत्रमा सम्पादित कामको मूल्याङ्कनका आधारमा सर्लाहीको हरिवन नगरपालिका मधेश प्रदेशभरमा लगातार दोस्रो वर्ष पनि पहिलो बन्न सफल भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य सेवा कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गरी निर्धाारित सूचकहरुको आधारमा प्रदेशभरका १३६ पालिकामध्ये हरिवन नगरपालिका पहिलो भएको हो । हरिवन नगरपालिकाले स्वास्थ्यतर्फ अघिल्लो आर्थिक वर्ष २०७९/८० पनि मधेश प्रदेशमा पहिलो स्थान हाँसिल गरेको थियो ।
केही दिनअघि सम्पन्न जिल्लास्तरीय समिक्षा गोष्ठीमा समेत हरिवन नगरपालिका जिल्लाका २० पालिकामध्ये पहिलो भई सम्मानित भएको थियो । लगातार दुई वर्ष प्रदेशभरमा पहिलो स्थान हाँसिल गरी मधेश प्रदेशको समग्र्र स्वास्थ्यस्थिति सुधारमा पुर्याएको योगदानलाई कदर गर्दै प्रदेशको स्वास्थ्य निर्देशनालय जनकपुरले हरिवन नगरपालिकालाई सम्मान गरेको छ ।
प्रदेश राजधानी जनकपुरधाममा हिजो आयोजित आर्थिक वर्ष २०८०/८१ को प्रदेशस्तरीय स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा गोष्ठीमा हरिवन नगरपालिकालाई सम्मान गरिएको हो । मधेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले हरिवनका नगरप्रमुख रमेश बुढाथोकी (कमल), स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीलगायत स्वास्थ्य क्षेत्रका कर्मचारीलाई सम्मान–पत्र प्रदान गर्दै सम्मान गरेका छन् ।
प्रदेशभरको स्वास्थ्य कार्यक्रमको समिक्षामा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका दोस्रो र पर्साको ठोरी गाउँपालिका तेस्रो भएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका चौंथो भएको छ ।
पालिकाले सञ्चालन गरेको खोप कार्यक्रम, मातहतका स्वास्थ्य संस्थाबाट प्रदान गरिएको स्वास्थ्य सेवा, स्वास्थ्य संस्थामा भएको सुत्केरीको दर, कुपोषित बालबालिका, क्षयरोग तथा एजआइभी सङ्क्रमित बिरामीको अवस्था र उपचारको स्थिति, सम्वन्धित निकायमा समयमै विवरण पठाएको लगायतलाई आधार मानेर पालिकाहरुको स्वास्थ्य कार्यक्रमको अवस्था मुल्याङ्कन हुने गरेको छ ।
त्यस्तै स्वास्थ्यको जिल्लास्तरीय समिक्षामा मधेश प्रदेशका आठ जिल्लामध्ये सर्लाही दोस्रो भएको छ ।