नगर अस्पताल लालबन्दी । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी, ०३ कात्तिक – सर्लाहीका अस्पतालमा मौसमी फ्लुका बिरामी बढेका छन् ।
मौसममा आएको परिवर्तनसँगै मौसमी सङ्क्रमण भएर अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको हो । नगर अस्पताल लालबन्दीका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीले दम, ज्वरो, खोकी, टाउको दुख्ने, टाइफाइडजस्ता मौसमी फ्लुको सङ्क्रमण बढेको जानकारी दिए ।
नगर अस्पतालमा उपचार गर्न आउने एक ५० भन्दा बढी बिरामीमध्ये धेरैजसोमा मौसमी फ्लुको समस्या देखिएको डा. चौधरीको भनाई छ । बालबालिका र वृद्धवृद्धामा मौसमी फ्लुको सङ्क्रमण धेरै देखिएको चिकित्सकले बताएका छन् ।
अघिल्ला वर्षहरुमा दशैँपछि फागुन÷चैतसम्म बिरामीको चाप घट्ने गरेकोमा यो वर्ष दशैँकै बेला बिरामीको चाप झन बढेको नगर अस्पताल लालबन्दीले जनायो । अस्पतालमा डेङ्गुका बिरामी समेत बढेका छन् ।
अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा छिमेकका ईश्वरपुर, हरिवनलगायत पालिकाबाट आएका बिरामीलाई डेङ्गु सङ्क्रमण देखिएको डा. चौधरीले बताए । सर्लाहीमा उत्तरी भेगका लालबन्दी, नवलपुर र हरिवन क्षेत्रका सरकारी अस्पताल, स्वास्थ्य चौकी र निजी स्वास्थ्य संस्थामा मौसमी फ्लुका बिरामीको चाप अत्यधिक देखिन्छ ।
चिकित्सकले मौसमी फ्लुबाट जोगिन बेलाबेलामा साबुनपानीले हात धुन, तातो पानी पिउन, बाफ लिने जस्ता घरेलु उपचार विधि अपनाउन, फ्लू लागेका वा रुघाखोकी लागेका बिरामीदेखि टाढै बस्न वा मास्क लगाउन र गाह्रो महशुस भएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न सुझाव दिएका छन् ।