logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

दुई घण्टापछि खुल्यो राजमार्ग


  • उज्यालो अभियान

रानिगन्ज, १४ असोज – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानिगन्जमा स्थानीयले गरेको चक्काजाम दुई घण्टापछि खुलेको छ ।

पहिरोमा परेर मृत्यु भएका रानिगन्ज निवासी फुटबल खेलाडी आदित्य बलाम्पाकीको मृत्युको घटनालाई लिएर स्थानीयले राजमार्गमा चक्काजाम गरेका हुन् । १४ वर्षमुनिको खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, स्थित बत्सला माध्यमिक विद्यालयको होस्टलमा राखेर प्रशिक्षण गराइरहेकामा गएको शनिबार रानिगन्जका आदित्यसहित अन्य छ जना खेलाडी पहिरोले पुरिएको अवस्थामा मृत फेला परेका थिए ।

आदित्यको शव शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा पोष्टमार्टमपछि सोही अस्पतालमा राखिएको छ । मृतकका परिवारले दिएको जाहेरी बुझ्न अस्वीकार गरिएको र एन्फा प्रतिनिधि तथा प्रहरीले बनाएको जाहेरी कागजमा जवरजस्ती सही गराउने प्रयास गरिएको गुनासो गरेका छन् । घटनामा मृत्युभएका छ जनामध्ये दुई जनाको हिजो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिए पनि आदित्यसहित चार किशोर खेलाडीको शव परिवारले बुझेका छैनन् ।

आदित्यको शव हिजो बिहान एन्फाले व्यवस्था गरिदिएको हेलिकप्टरमा राखेर रानिगन्जस्थित घर ल्याउने तयारी थियो । एन्फाको लापरवाहीले घटना भएको भन्दै अन्तिम समयमा परिवारले शव बुझ्न अस्वीकार गरेका छन् ।

आदित्यको मृत्युपछि शोकाकुल बनेका रानिगन्जवासीले हिजो दिउँसो राजमार्गमा निस्किएर दिउँसो ३ बजेदेखि साँझ पाँच बजेसम्म चक्काजाम गरेका हुन् । स्थानीयले आदित्यलाई न्याय दे, एन्फा मुर्दावाद ! जस्ता नारा लगाएर राजमार्गमा प्रदर्शन गरेका हुन् ।

प्रहरी अधिकारीले परिवारले दिने जाहेरीका सम्वन्धमा माथिल्लो निकायमा समन्वय गर्ने आश्वासन दिइ सम्झाइबुझाइ गरेर राजमार्ग खुलाएका हुन् ।