हरिवन, ११ असोज – सर्लाहीका उखु किसानले पाउने अनुदान रकम आज कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा आइपुगेको छ ।
कालेनिका मलंगवाका लेखापाल रामप्रकाश साहले उखु किसानले पाउने अनुदान रकमको अख्तियारी आज आएको पुष्टी गरे । उनले अब दशैँअघि नै किसानको खातामा अनुदानको रकम पठाइने उज्यालो अभियानसँग बताएका छन ।
जिल्लाका किसानलाई वितरण गर्न पुग्ने गरी रकम आएको उनको भनाई छ ।
यसैबिच, सरकारले दुध तथा उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीको विशेष पहलमा दुध तथा उखु किसानका लागि झण्डै दुई अर्ब रुपियाँ निकास भएको हो ।
दुध किसानहरूको बक्यौता रकम तिर्नका लागि आज मात्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको छ भने आठ जिल्लाका उखु किसानले पाउनुपर्ने एक अर्ब ४५ करोडभन्दा बढी रकम कृषि मन्त्रालयले रकमान्तर गरी भुक्तानीका लागि जिल्लाहरूमा पठाएको छ । त्यसका लागि महालेखा नियन्त्रक कार्यालयको अनुमति र अर्थ मन्त्रालयले रकम बाँडफाँट गरी आजनै सम्बन्धी जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पठाएको छ ।
अब कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा र सुनसरी जिल्लाका उखु किसानले पाउनुपर्ने रकमका लागि एक अरब ४५ करोड ३२ लाख २१ हजार ८६८ रुपियाँ सम्बन्धित जिल्लालाई पठाएको हो ।
सम्बन्धी जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई रकम बाँडफाँट स्वीकृत पाएको छ ।