सन्जु कर्ण, उज्यालो अभियान
हरिवन, ०४ भदौ – सर्लाहीको हरिवनमा आज व्यावसायिक भवन र बजार व्यवस्थापनका सम्वन्धमा बृहत छलफल भएको छ ।
हरिवनमा रहेका उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, नेपाल सुनचाँदी व्यवसायी संघ, नेपाल होटल तथा पर्यटन व्यवसायी संघ र सर्लाही ट्रक व्यवसायी संघको संयुक्त आयोजनामा छलफल भएको हो । हरिवन बजारमा निकै अगाडि निर्माण भएको व्यावसायिक भवन प्रयोगका सम्वन्धमा अन्यौलता र विवाद कायमै छ । त्यसकै समाधानस्वरुप व्यापारीहरुको विभिन्न संघ एक भएर आज छलफल आयोजना गरेका हुन् ।
छलफलमा व्यापारी र स्थानीयको तर्फबाट व्यावसायिक भवन र बजारका विषयमा धेरै कुरा उठेपनि जवाफ दिनका लागि मेयर रमेश बुढाथोकी (कमल) सहभागी नभएको गुनासो उनीहरुको छ । छलफलमा उपमेयर हरिमाया घलान, अधिकांश वडाका वडाध्यक्ष, वुद्धिजिवी, व्यापारी र स्थानीयको उपस्थिति थियो । सहभागी हरिवनका वडाध्यक्षहरुले व्यावसायिक भवन हस्तान्तरणका लागि आफूहरुले पहल गर्ने वचन दिएका छन् ।
व्यापारीले बजारमा कौडी उठाउने काम पनि व्यवस्थित हुन नसकेको दुःखेसो पोखेका छन् । हरिवन उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश केसीले यस विषयमा उद्योग वाणिज्य संघको भोली बैठक बसेर थप निर्णय गर्ने बताए ।