हरिवन, २८ साउन – हरिवन नगरपलिका वडा नं. ४ निवासी जुत्ताचप्पल उद्यमी निर्मला कुमारी महतोलाई हरिवन नगरपालिकाले सम्मान गरेकाे छ ।
साेमबार दिउँसाे कार्यालयमा एक संक्षिप्त कार्यक्रम आयाेजना गरेर नगरपालिकाले महताेलाई दाेसल्ला सहित सम्मान-पत्र प्रदान गरकाे हाे । अन्तर्राष्ट्रिय युवा दिवस-२०२४ को अवसरमा अनलाईन खबर मिडियाले देश भरिका युवा उद्यमीहरु बीच गरेको सर्वेक्षणमा ४० वर्ष मुनीका सर्वोत्कृष्ट ४० सफल उद्यमीहरुमा पर्न सफल महताेलाई सम्मान गरिएकाे हरिवन नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष केशव थापाले जानकारी दिए । हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथाेकी, उप-प्रमुख हरिमाया घलान, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकाेटा, लघुउद्यम अधिकृत शिक्षा ढकाल, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्री लगायतले महताेकाे उत्तराेतर प्रगतिकाे शुभकामना मन्तव्य सहित सम्मान गरेका थिए ।
महताे विगत ५ वर्षदेखि जुत्ताचप्पल उत्पादनकाे व्यवसाय गरिरहेकी छिन् । नगरपालिकाकाे सम्मानले आफूलाई अझै बढी काम गर्ने उत्साह प्राप्त भएकाे भन्दै महताेले खुशी प्रकट गरिन् । साथै महताेले नगरपालिकाबाट यथाशक्य सहयाेगकाे अपेक्षा समेत गरिन् ।