लालबन्दी, २४ साउन – लालबन्दी बजारमा तरकारी किन्नका लागि सीमावर्ती हाटबजारका व्यापारी समेत आउन थालेका छन् ।
केही दिनदेखि पानी परेर तरकारीमा क्षति गरी बजारमा तरकारी नै कम हुन थालेपछि दक्षिणी बेल्टका व्यापारीधरी तरकारी खरिद गर्न लालबन्दी बजारमा ओइरिएका हुन् । तरकारी कम फलेर बजारमा थोरै मात्रामा आइरहेकाले केही दिनदेखि लालबन्दी बजारमा तरकारी किन्न व्यापारीबिच हानाथाप नै चलिरहेको छ ।
डुमडुमे मन्दिर अगाडिको थोक तरकारी बजारमा व्यापारीले सडकमै निस्किएर किसानले साइकल, मोटरसाइकल, टेम्पुमा ल्याएको तरकारी खोसाखोस गरेर किनिरहेका छन् । कृषि थोक तरकारी बजार समितिका व्यवस्थापक शम्भु घिमिरेले भारतीय र सीमावर्ती क्षेत्रका व्यापारी लालबन्दीमा धेरै नै आइरहेका जानकारी दिए । उनका अनुसार तरकारी थोरै आएको र व्यापारी धेरै झरेकाले तरकारी किन्न प्रतिस्पर्धा चलेको हो ।
हिजो अस्ती झैँ आज पनि व्यापारीले रोडमै तरकारी रोकेर हारालुछ गरेर किनिरहेका छन् । तरकारी थोरै आइरहेकाले व्यापारीले बढी मूल्य हालेर किनिरहेका छन् । यसबाट किसानलाई राहत मिलेको छ ।
यसैबिच, सर्लाहीमा गएराति देखि भने लगातारको वर्षा रोकिएको छ । २ रात लगातार पानी परेकोमा गएराति भने वर्षा भएन ।
हिजो दिउँसोपख भने जिल्लाको केही भागमा खण्डवृष्टि भएको थियो । जिल्लाको मौसम आज बिहानैदेखि घाम लागेर उघ्रिएको छ ।