लालबन्दी, २३ साउन – सर्लाहीको लालबन्दी बजारमा आज तरकारी कम आइरहँदा व्यापारीले खोसाखोस गरेर तरकारी किनिरहेका छन् ।
पानी परेको समयमा तरकारीको उत्पादन घट्ने गरेको छ । सोमबार रातिदेखि पानी परेर तरकारी नै कम आइरहेकाले किसानले आज डुमडुमे मन्दिर अगाडि रहेको थोक बजारसम्म तरकारी पुर्याउनै परेको छैन् ।
व्यापारीले बिहानैदेखि रोडमा रोकेर हिजो अस्तीको भन्दा बढी मूल्य हालेर तरकारी किनिरहेका छन् । किसानले साइकल, मोटरसाइकल, अटोलगायतका साधनमा हालेर ल्याएको तरकारी व्यापारीले तानातान गरेर किनिरहेका हुन् ।
तरकारी किन्न व्यापारीबिच हानाथाप पर्दा किसानलाई फाइदा पुगेको छ । मूल्य नपाएर ठगिने किसानले आज भने राम्रो मूल्य पाइरहेका छन् । मधेश प्रदेशको तरकारी बिक्री हुने ठूलो बजार लालबन्दीमा आज भिन्डीबाहेक अन्य तरकारीको मूल्य राम्रो छ ।
भिन्डी किलोको २० देखि २५ रुपैयाँमा व्यापारीले किसानबाट किनिरहँदा लौका एउटाको ८० देखि ८५, बोडी प्रतिकेजी ८० देखि १००, करेला ५० देखि ६०, घिरौला २५ देखि ३०, परवल ५० देखि ६० रुपैयाँमा व्यापारीले उठाइरहेका छन् । लालबन्दी बजारका तरकारी व्यापारी मोहम्मद उस्मानले पानी परेर बजारमा तरकारी कम आइरहेकाले समस्या भएको उज्यालो अभियानसँग बताए ।
अरु बेला तरकारी धेरै भएर मूल्य नै नदिने व्यापारी आज तरकारी कम आएपछि आफै बजारको स्टलबाट सडकमा निस्किएर हारालुछ गरेर तरकारी किन्न बाध्य भएका छन् ।
लालबन्दी तरकारी बजारमा लालबन्दीसहित ईश्वरपुर, हरिवन, हरिपुर, चन्द्रनगर र महोत्तरीको गौशाला तथा बर्दीवासका किसानले समेत तरकारी बेच्न ल्याउने गरेका छन् ।