logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा सतप्रतिसत धान रोपाइँ,वर्षाले साथ दिँदा किसान उत्साहित


  • उज्यालो अभियान

धान रोप्दै गरेका रोपाहार ।

हरिपुर, २२ साउन – पर्याप्त आकाशे वर्षा भइदिँदा सर्लाही जिल्लामा यो वर्ष सतप्रतिसत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रले दावी गरेको छ ।

कार्यालयका प्रमुख देवानन्द रायले यो वर्ष जिल्लाभर धान खेती हुने सबै खेतमा रोपाइँ सक्किसकेको जानकारी दिए । “वर्षाले साथ दिएकाले लगभग सबैजसो किसानले धान रोपिसकेका छन्,” उनले भने “हामीलाई प्राप्त जानकारी अनुसार अब रोपाइँ हुने खेत बाँकी छैन् ।”

सर्लाहीमा ४३ हजार ५०० हेक्टर क्षेत्रफलमा बर्खे धान खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सर्लाहीमा ४६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा पछिल्लो समय धान खेती हुने जग्गामा नै घर तथा विभिन्न कार्यालय, सडक र अन्य संरचना निर्माण हुँदा खेती हुने क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्रका प्रमुख रायले बताए ।

“राम्रो धान फल्ने खेतमा अहिले घर र सडक बनेका छन्, त्यसैले पनि खेती हुने क्षेत्रफल घटेको छ,” रायले भने, “क्षेत्रफल घटेकाले उत्पादनमा समेत गिरावट आउने देखिन्छ ।”

२०६८ सालको गणनामा ८४ हजार हेक्टर खेतियोग्य जमिन रहेको सर्लाहीमा २०७८ मा आएर ७३ हजार हेक्टरमा खुम्चिएको छ ।

अझै पनि खेतीयोग्य जमिन मासेर घर, कार्यालय र सडक निर्माण हुनेक्रम नरोकिएकाले खेतीयोग्य जमिन घट्न सक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । यो वर्ष अहिलेसम्म वर्षाले साथ दिँदा धान खेती राम्रै देखिएको र यसैगरी बेलाबेलामा वर्षा भइराखे उत्पादन राम्रो हुने कृषि प्राविधिकले बताएका छन् ।

बेलैमा रोपेर हरियो फिरिसकेको रोपो अर्थात धान बालीमा किसानले अहिले धमाधम गोडमेल गरेर मलखाद गरिरहेका छन् ।