हरिवन, १६ साउन – जिल्ला स्थित हरिवन नगरपालिकाले यो वर्षपनि समयमै बजेट जारी गर्न सकेन । हरिवनमा गत आर्थिक वर्षमा पनि दशैं अघि मात्र नीति तथा कार्यक्रम सहित बजेट नगरसभाले पारित गरेको थियो ।
चालू आर्थिक वर्ष २०८१/०८२ मा पनि कानूनी समयावधी भित्र हरिवन नगरपालिकाले नीति कार्यक्रम सहित बजेट ल्याउन सकेन । नगर प्रमुख रमेश बुढाथोकी (कमल) र वडाध्यक्षहरुबीच बजेट चलाउने विषयमा विवादका कारण समयमै बजेट आउन नसकेको हाे ।
बजेट ल्याउने विषयमा विवाद भइरहने जिल्ला स्थित हरिपुर्वा नगरपालिका तथा चन्द्रनगर गाउँपालिकाले समेत यो पटक समयावधी भित्रै नीति कार्यक्रम सहित बजेट ल्याईसकेका छन् । हरिपूर्वाले गतवर्षको बजेट फागुनमा तथा चन्द्रनगर गापाले पुसमा मात्र पास गरेको थियो ।
नगर प्रमुख बुढाथोकीको हठले गर्दा समयमै बजेट आउन नसकेको वडाध्यक्षहरु दाबी गर्छन् । ‘कुल बजेटको ६० प्रतिशत वडाहरुबाट तथा ४० प्रतिशत नगरबाट खर्च हुनेगरी नीति कार्यक्रम तथा बजेट ल्याउन हामीले माग गरेका छौं’, वडा नम्बर ३ का वडाध्यक्ष दिपमान लोप्चनले भने, ‘तर मेयरसाब कार्यपालिका बैठक नै नराखी भागेर हिँडिराख्नु भाको छ, यो हुदैन र त्यो हुदैन बाहेक केही भन्नुहुन्न जसले गर्दा बजेट आउन सकेको छैन ।’
४ नम्बरका वडाध्यक्ष केशव थापा नगरप्रमुख बुढाथोकीको समन्वय गर्ने भन्दापनि भाग्ने बानीले गर्दा कुनै बैठक तथा छलफल हुन नसकेको आरोप लगाउँछन् । ‘असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सामान्य औपचारिकता पूरा गर्ने काम भयो, त्यसपछि न कार्यपालिकाको बैठक बसाएर बजेटका बारेमा छलफल गराउनु भाको छ, न त अनौपचारिक छलफल नै गर्नुभएको छ ।’
वडा नम्बर २ का वडाध्यक्ष अर्जुन योञ्जन नगर प्रमुख बुढाथोकीले एकमुष्ट नगरबाट बजेट राख्न खोज्दा बजेट अड्किएको बताए । ‘हामी वडाध्यक्षहरुको त कुरै सुन्न चाहनुहुन्न, कहिलेकाही सुनेजस्तो गरेपनि काम भने ठिक उल्टो गर्ने बानी छ’, वडाध्यक्ष योञ्जनले भने, ‘कुन विद्यालयलाई कति, कुन सडकमा कति, कुन स्वास्थ्यचौकीलाई कति जस्ता हरेक बजेट ठाउँ नै तोकेर शिर्षकबाईज छुट्याउनु पर्छ भन्ने हाम्रो पारदर्शी माग हो, तर मेयरसाब शिक्षा, स्वास्थ्य, सडक, कृषि लगायतमा एकमुष्ट बजेट राखेर अपारदर्शी बाटो हिड्न खोज्नु हुन्छ, अनि कसरी कुरा मिल्नु र बजेट पास हुनु ?’
नगरप्रमुख बुढाथोकीले भने विवाद मिलाएर बजेट ल्याउने तयारी भईरहेको बाहेक अन्य बोल्न चाहेनन् । ‘विवादका कारण बजेट आउन सकेको छैन’, बुढाथोकीले भने, ‘चाँडोभन्दा चाँडो विवाद मिलाएर बजेट ल्याउने प्रयास भइरहेको छ ।’
हरिवनमा नगर प्रमुख बुढाथोकी नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुने एक्ला जनप्रतिनिधि हुन् । उपप्रमुख हरिमाया घलान नेकपा एमाले तथा वडाध्यक्ष र वडासदस्यहरु एमाले, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित छन् । संख्यात्मक हिसाबले नगर सभा तथा कार्यपालिकामा एक्ला नगरप्रमुख बुढाथोकीले व्यबहारमा समेत समन्वयात्मक भूमिका निर्वाह गर्न नसकेका कारण बजेट आउन नसकेको जानकारहरु बताउँछन् । नेकपा एमालेबाट निर्वाचित तत्कालिन नगरप्रमुख गणेश प्रसाद प्रसाईं नगरसभा तथा कार्यपालिकामा दुईतीहाई बहुमतको अवस्थामा हुँदा समेत वडा नं. ७ मा नेपाली कांग्रेसबाट निर्वाचित नेत्र प्रसाद मैनालीलाई आफ्नै पार्टीबाट निर्वाचित वडाध्यक्षहरुलाई जस्तै व्यवहारबाट पाठ सिक्न समेत हालका वडाध्यक्षहरुको सुझाव छ ।
कानून अनुसार हरेक असार २५ गतेभित्र पालिकाहरुको नीति, कार्यक्रम तथा बजेट पास भईसक्नु पर्छ । नभए पालिकाको अंक घट्छ र संघीय अनुदानमा समेत कमि आउँछ । त्यस्तै गत आर्थिक वर्षमा नगरपालिकाले सार्वजनिक सुनुवाई समेत गर्न सकेन । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा समेत नेपाल पत्रकार महासंघ सर्लाहीको संयोजनमा असारको अन्तिममा नगरको सार्वजनिक सुनुवाई भएको थियो । नगरप्रमुख बुढाथोकीसँगको विवादका कारण वडाध्यक्षहरु सहित अधिकांश जनप्रतिनिधि सहभागि नहुने अडानबीच महासंघको समन्वयमा सबैको सहभागितामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको थियो । सार्वजनिक सुनुवाई गर्न नसक्दा पनि संघबाट आउने अनुदानका लागि नम्बर घट्ने जानकारहरु बताउँछन् ।