धान रोप्दै गरेका रोपाहार ।
बबरगन्ज, २२ असार – सर्लाहीमा अघिल्ला वर्षहरुमा आकाशे वर्षा कुरेर ढिलो गरी धान रोपाइँ हुने क्षेत्रमा यो वर्ष भने बेलैमा रोपाइँ भएको छ ।
जिल्लाको उत्तरी चुरेभेग र पूर्वी भेगमा आकाशे वर्षाको भरमा धान रोपाइँ हुने गरेको छ । यो वर्ष मध्य असारमै पर्याप्त वर्षा भएपछि यही क्षेत्रमा सबैभन्दा पहिले धान रोपाइँ भएको हो ।
चन्द्रनगर गाउँपालिका, पर्सा गाउँपालिका र हरिपूर्वा नगरपालिकाका अधिकांश किसानले धान रोपाइँ गरिसकेका छन् । धान रोप्न बाँकी रहेका किसानले पनि अहिले धमाधम खेत गदारेर आलिभित्ता गर्ने, बिउ उखेलेर राख्ने जस्ता काम गरिरहेका छन् ।
चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले यो वर्ष बेलैमा पर्याप्त वर्षा भएर धान रोपाइँ गर्न पाउँदा किसान खुसी रहेका बताए । जिल्लाको अन्य भेगमा धान रोपाइँ भइसक्दा पूर्वी बेल्टका खेतियोग्य फाँट बाझैँ हुन्थे तर यो वर्ष भने त्यो अवस्था रहेन ।
अधिकांश किसानले आकाशबाट परेको पानीकै भरमा रोपाइँ सिध्याइसकेका छन् । जिल्लाको चुरभेगमा पनि अधिकांश किसानले धान रोपाइँ गरिसकेका छन् ।
चुरेभेगमा खोलामा पानी रहुन्जेल कुलो सञ्चालन भएपनि खोला सुक्नासाथ आकाशे वर्षाको भर रहेको छ । मकै पाकेपछि मात्रै रोपाइँ गर्ने किसानबाहेक अन्यले धान रोपाइँ गरिसकेका छन् ।
मकैको उत्पादन राम्रै हुने चुरेभेगमा सँठिया मकै भित्र्याएपछि मात्रै धान रोपाइँ गर्ने गरिएको छ । लालबन्दी नगरपालिका–१५, का किसान तिलक कार्कीले यो वर्ष आवश्यक परेको बेला वर्षा भएकाले खेतमा चाँडो रोपाइँ गरिएको बताए ।
वर्षाले साथ दिइरहे बाँझो रहेको खेतमा एक साताभित्र रोपाइँ हुने अवस्था रहेको किसानले बताएका छन् । मकै भित्र्याएपछि मात्रै रोपाइँ गर्ने किसानले भने साउनमा धान रोपाई गर्ने छन् ।
सर्लाहीमा ४६ हजार हेक्टर जग्गामा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र मलङ्गवाले जनाएको छ । कार्यालयका प्रमुख देवानन्द रायले जिल्लाभर २५ प्रतिसतको हाराहारीमा धान रोपाइँ भइसकेको जानकारी दिए ।