logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

पालिकामा भुक्तानी लिनेको भिड


  • उज्यालो अभियान

बरहथवा, १३ असार – चालु आर्थिक वर्ष २०८०/८१ को अन्तिम हुनै लाग्दा सर्लाहीका स्थानीय तहमा सम्पन्न भइसकेका योजना तथा कार्यक्रमको भुक्तानी लिन आउनेको भिडभाड बढ्न थालेको छ ।

जिल्लाका ११ नगरपािलका र नौ वटा गाउँपालिकाको कार्यालयमा भुक्तानी लिनेको चहलपहल बढेको हो । जनप्रतिनिधि तथा कर्मचारीलाई योजना तथा कार्यक्रमको अनुगमन गर्ने र भुक्तानी दिने काममा भ्याइनभ्याइ रहेको छ ।

आठ महिना ढिलो गरी गत फागुन ७ गते मात्रै नगरसभा गरेको हरिपूर्वा नगरपालिकामा अधिकांश योजना तथा कार्यक्रम अहिले धमाधम संचालन भइरहेको छ । नगर उपप्रमुख सुमित्रादेवि ग्वारिनले दैनिक योजना तथा कार्यक्रमको अनुगमन गर्ने चटारो रहेको बताईन् ।

त्यस्तै नौ महिनापछि चैत २५ गते गाउँसभाबाट बजेट पारित गरेको चन्द्रनगर गाउँपालिकामा पनि अहिले धमाधम योजना संचालन भइरहेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थिङले ढिलो गरी बजेट पारित भएको र अहिले योजना तथा कार्यक्रम संचालनको चटारो रहेको बताए ।

प्रायः अधिकांश पालिकाले असार लागेपछि मात्रै योजना तथा कार्यक्रम सञ्चालन गरेका छन् । बजेट सक्नका लागि हतारमा योजना तथा कार्यक्रम संचालन गर्दा गुणस्तरहीन र प्रभावहीन बनेको गुनासो बढ्दो छ ।

योजना संचालन गर्न भ्याइनभ्याइ परिरहेका बेला जिल्लाको बागमती नगरपालिकामा भने नगरप्रमुख भरतकुमार थापा र उपप्रमुख लीलाकुमारी मोक्तान भ्रष्टाचारको मुद्दा लागेर निलम्बनमा परेपछि चालू आर्थिक वर्षको योजना तथा कार्यक्रम प्रभावित बनेको छ ।

बागमती नगरपालिका १ का वडाध्यक्ष गम्भीरसिंह पाख्रिनले नगरप्रमुख र उपप्रमुख दुवै निलम्बनमा परेपछि काम गर्न अप्ठेरो परेको बताए । नगरप्रमुख र उपप्रमुखको निलम्बनकै कारण बागमतीले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट पनि समयमै नगरसभामा पेश गर्न सकेन ।

वडाध्यक्ष पाख्रिनले आफूहरु अन्यौलग्रस्त अवस्थामा रहेको गुनासो गरेका छन् ।