(तस्बीर सौजन्य : सुरज अधिकारी/रेडियो एकता)
लालबन्दी, ०६ असार – लालबन्दी नगरपालिकामा नगरसभाको १२ औँ अधिवेशन बिहीबार प्रारम्भ भएको छ ।
लालबन्दी नगरपालिका वडा नं. १० चन्द्रपुरस्थित वडा कार्यालय परिसरमा रहेको सभा हलमा नगरसभा प्रारम्भ भएको हो । सभाले असार मसान्तभित्र नीति तथा कार्यक्रममाथि छलफल गरेर बजेटसहित पारित गर्ने छ ।
नगरसभाको उद्घाटन समारोहमा बिहीबार नीति तथा कार्यक्रम मात्रै प्रस्तुत भएर आजै पारित भएको छ भने बजेटसहित असार १० गते पुनः प्रस्तुत हुने छ । नगरसभाको उद्घाटन समारोहमा मेयर बासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने र नगरसभा सदस्यको उपस्थिति थियो ।
नगरपालिकाले पहिलो पटक नगरसभामा गरिने अभ्यासबारे जानकारी प्रदान गर्न प्रत्येक माध्यमिक विद्यालयबाट विद्यार्थीलाई पनि सरिक गराएको छ । नगरसभाको उद्घाटन समारोहमा नगरपालिकाकै सबैभन्दा विकट क्षेत्रमा पर्ने वडा नं. १४ नारायणखोलाका वडाध्यक्ष छेनामसिंह घिसिङले भने विरोध जनाएका छन् ।
अधुरो अवस्थामा रहेको लालबन्दी १३ र १४ लाई जोड्ने पुलका लागि बजेट विनियोजन गर्न आफूसँग सल्लाह नै नगरिएको भन्दै घिसिङले नगरसभा बहिष्कार गरेर हलमा बसेनन् । उनले संघ र प्रदेशको योजनामा नपरेको र नगरले पनि बेवास्ता गर्दा सो पुल अलपत्र नै रहने अवस्था आएको दुःखेसो पोखेका छन् ।