लालबन्दी, ०५ असार – लालबन्दी नगरपालिका १७ रानिगन्जमा आजबाट सर्लाही जिल्ला लिग फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक क्यालेण्डर अनुसार आयोजित प्रतियोगिताको रानिगन्जस्थित फुटबल मैदानमा लालबन्दीका मेयर बासुदेव अधिकारीले उद्घाटन गरेका छन् । आयोजक सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष विष्णु सुस्लिङको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन समारोहमा ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्य, लालबन्दी नगरपालिकाकी उपमेयर कल्पनामाया पाख्रिन, पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठ, मधेश प्रदेश फुटबल संघका मानार्थ उपाध्यक्ष उज्वल कार्कीलगायतको आतिथ्यता रहेको थियो ।
असार २३ गतेसम्म संचालन हुने प्रतियोगितामा सर्लाही जिल्ला फुटबल संघमा आवद्ध रहेका ९ वटा क्लबको सहभागिता छ । बिजेताले ५० हजार पुरस्कारसहित १० औं राष्ट्रिय खेलकुदमा मधेश प्रदेश स्तरीय छनौटमा सहभागी हुने पाउने छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आज जनज्योति स्पोर्टस् क्लब लालबन्दी ९ बस्तीपुर र मिरमिरे युवा क्लब लालबन्दी १६ परवानिपुरले प्रतिस्पर्धा गरेका छन् । जसमा जनज्योतिले मिरमिरेलाई ३–२ गोलले पराजित गरेको आयोजक सर्लाही जिल्ला फुटबल संघका महासचिव शिवहरि गौतमले जानकारी दिए ।
अब भोली पहिलो खेल युनिक फुटबल क्लब लालबन्दी १७ र महाकाली युवा क्लब रानिगन्ज १७ तथा विशाल युवा क्लब ईश्वरपुर र पब्लिक यूथ क्लब लालबन्दीले खेल्ने छन् ।