logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मकै बालीमा फौजी किराको प्रकोप नियन्त्रण हुन सकेन


  • उज्यालो अभियान

फौजी किराले काटेको मकैको पात । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, ०४ असार – सर्लाहीको चुरेभेगका किसानले लगाएको मकैमा क्षति पुर्याइरहेको फौजी किरा अझै नियन्त्रणमा आउन सकेको छैन् ।

मकै उम्रदादेखि नै सताउन थालेको फौजी किराले एक महिना भन्दा बढी समयदेखि दुःख दिइरहेको हो । हुर्किएर कम्मरसम्म आइसकेको मकैमा फौजी किराले पात काटेर व्यापक क्षति पुर्याइरहेको किसानले गुनासो गरेका छन् ।

चुरेवर्ती क्षेत्रमा पर्ने परवानिपुर, पत्थरकोट, नारायणखोला, कालिन्जोर, अत्रौली, ढुङ्ग्रेखोलालगायत क्षेत्रमा फौजी किराले अत्यधिक क्षति पुर्याइरहेको छ । विषादी छर्कदा समेत फौजी किराले मकैको पात काट्न छाडेको छैन् ।

फौजी किराको प्रकोप यसैगरी रहीरहे मकै उत्पादनमा ठूलो क्षति पुग्ने किसानको चिन्ता छ । लालबन्दी नगरपालिका–१३, पत्थरकोटका किसान तिलकबहादुर दोङले फौजी किराका कारण मकै बाली सप्रिन नपाएको गुनासो गरेका छन् ।

दोङले हैरान भएर अब किरा मार्ने औषधि छिट्नै छाडेको बताए । “किराले मकैको पात खाएर बोट नै ठुटो पारेको छ, त्यसले गर्दा बोट सप्रिन पाएको छैन्,” दोङले भने, “बारम्बार औषधि छिट्दा समेत किराले सताउन छाडेको छैन् ।”

सर्लाहीमा फौजी किराले यसरी मकै बालीमा वर्षेनि क्षति पुर्याउन थालेको तीन वर्ष भइसकेको छ । सुरुमा अधिकांश किसानले किरा मार्न औषधी प्रयोग गर्ने गरेका थिए ।

बारम्बार औषधि छिट्दा पनि किराको प्रकोप नरोकिएपछि अहिले भने अधिकांश किसानले औषधि प्रयोग गर्नै छाडिसकेका छन् । लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले पर्याप्त वर्षा हुन नसक्दा मकैमा फौजी किराले क्षति पुर्याइरहेको बताए ।

पौडेलले तत्काल पानी पर्दिए किराको प्रकोप कम भइहाल्ने बताए । “पानी पर्न थालेपछि यो किरा आफै कम भएर जान्छ तर अहिले पानी पर्नै नसकेर समस्या भएको हो,” पौडेलले भने, “औषधि छिट्दा पनि हप्तामा दुई पटक छिट्नुपर्छ नत्र त किराको प्रकोप रोकिँदैन् ।”

कृषि शाखा प्रमुख पौडेलका अनुसार फौजी किराले अन्य बाली भन्दा मकै नै बढी रुचाउँछ । मकैको डाठ कलिलो हुँदा धेरै क्षति गर्ने फौजी किराले बोट छिप्पिँदै गएपछि भने कम क्षति गर्ने कृषि प्राविधिकले बताएका छन् ।