बागमती, ३० जेठ – सर्लाहीको बागमती युवा क्लब सहिद स्मारक ‘सी’ डिभिजनको च्याम्पियन बनेको छ ।
आज ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको लिगको आफ्नो अन्तिम खेलमा पुल्चोक स्पोर्टस् क्लबसँग गोलरहित बराबरीमा रोकिए पनि बागमतीले उपाधि उचालेको हो । यो नतिजासँगै बागमतीले १३ खेलमा ३० अङ्क जोड्दै च्याम्पियन बनेको हो ।
पुल्चोक भने समान खेलबाट २२ अङ्ककका साथ तेस्रो स्थानमा रह्यो । बागमती ‘बी’ डिभिजनमा उक्लिएकै वर्ष च्याम्पियन बनेको हो ।
बागमतीले दोस्रो स्थानको आरसी ३२ फुटबल एकेडेमी सुर्खेतलाई ४ अङ्कले पछि पार्यो । आरसी ३२ ले आज नै लिगको अन्तिम खेलमा सानेपा क्लबसँग ३–२ को हार ब्यहोरेको थियो ।
यो सिजन रानीवन स्पोर्टस क्लब र गोलबजार स्पोर्टस क्लब रेलिगेशनमा परेका छन् । ‘बी’ डिभिजनमा उक्लिएको बागमती युवा क्लब सर्लाहीले पछिल्लो समय मोफसलमा हुने विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ ।
बागमती नगरपालिकाको लगानी रहेको क्लबले मधेश प्रदेशकै सबैभन्दा ठूलो धनराशीको राजर्षि जनक कप समेत आयोजना गर्दै आइरहेको छ । तर बजेट अभाव भएको भन्दै आयोजकले गत फागुन, चैतमा गर्नुपर्ने प्रतियोगिता यो पटक भने गर्न सकेन ।