– टंक बहादुर क्षेत्री/उज्यालाे अभियान
बागमती, २९ जेठ – अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेसँगै सर्लाहीकाे बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी माेक्तान समेत निलम्बनमा परेकी छिन् ।
यसअघि २०८० चैत २८ गते अख्तियारले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै मेयर भरत कुमार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि उपमेयर माेक्तानले कार्यबाहक मेयरकाे रुपमा जिम्मेवारी सम्हालेकी थिईन् । तर मंगलबार मेयर थापासँगै नगरपालिकाकी उपमेयर माेक्तान, तत्कालिन निमित्त प्रमुख प्रशासकीय विमल पाेखरेल, तत्कालिन लेखा अधिकृत विश्वराज पाेखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालिन प्रमुख मेथुर चाैधरी विरुद्ध समेत अख्तियारले `भरत ताल’ काे रुपमा चर्चित बागमती माछा पाेखरी निर्माण कार्यकाे भ्रटाचारमा संलग्न भएकाे दाबी सहित विशेष अदालतमा मुद्धा दायर गरेकाे छ ।
मंगलबार अख्तियारकाे मुद्धासँगै बागमती नपाकी कार्यबाहक मेयरकाे जिम्मेवारी सम्हालेकी उपमेयर माेक्तान समेत निलम्बनमा परिन् । अब बागमती नगरपालिकामा १२ वटा वडाबाट विजयी वडाध्यक्षहरु मध्येबाट कार्यबाहक मेयरकाे जिम्मेवारी सम्हाल्नु पर्ने अवस्था आएकाे छ ।
तर स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा मेयर/उपमेयर वा अध्यक्ष/उपाध्यक्ष नै निलम्बनमा परेकाे अवस्थामा पालिकाकाे कार्यबाहक मेयर/उपमेयर वा अध्यक्ष/उपाध्यक्षकाे जिम्मेवारी कसले सम्हाल्ने भन्ने व्यबस्था नै छैन । अब भाेली वा पर्सि बस्ने मन्त्रिपरिषदकाे बैठकले यश विषयमा निर्णय गरेर बाटाे खाेल्ने भन्ने अनाैपचारिक जानकारी आफूले पाएकाे बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले उज्यालाे अभियानसँगकाे टेलिफाेन कुराकानीमा बताए ।
`गाेदावरी नगरपालिकामा पनि यस्तै समस्या पहिला नै आएकाे थियाे, त्यहाँ पनि अहिलेसम्म कुनै व्यबस्था भएकाे छैन’, प्रमुख प्रशासकीय अधिकृत पुरीले मंगलबार साँझ उज्यालाे अभियानसँग भने, `त्यहाँकाे प्रमुख प्रशासकीय अधिकृतज्यूसँग कुरा हुँदा भाेली या पर्सि मन्त्रिपरिषदकाे बैठक बस्ने र संघीय मामिला मन्त्रालयबाट निकास निकाल्ने गरि प्रस्ताव जाने सम्भावना रहेकाे जानकारी आएकाे बताउनु भएकाे छ ।’
निर्बाचित वडाध्यक्षहरु मध्येबाट सहमतिमा कार्यबाहक मेयरकाे जिम्मेवारी ताेक्ने वा सहमति हुन नसके वडाध्यक्षहरुकै मतदानबाट ताेक्ने गरि व्यबस्था मिलाउने बारेमा समेत मन्त्रिपरिषदबाट निर्णय हुन सक्ने जानकारहरुले बताएका छन् । ज्येष्ठ वडाध्यक्षलाई स्वतः कार्यबाहक मेयरकाे जिम्मेवारी दिने व्यबस्था हुँदा पालिकाकाे नेतृत्व सक्षम जनप्रतिनिधिकाे हातमा नपर्न सक्ने सम्भावना अधिक भएकाले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने गरि निकास आउनुपर्ने जानकारहरुकाे भनाई छ । यदि ज्येष्ठ वडाध्यक्षलाई नै दिने व्यबस्था भएमा वडा नम्बर ४ का वडाध्यक्ष ६४ वर्षीय कृष्ण बहादुर लामा कार्यबाहक मेयरकाे जिम्मेवारीमा हुने छन् ।
बागमती नगरपालिकाका अधिकांश वडाध्यक्षहरु पनि अख्तियारमा उजुरी परेका आधारमा निरन्तर बयान दिन गईरहेका छन् । वडा नम्बर २, ६, ८ र ९ नम्बरका बाहेक अन्य ८ वटा वडामा २०७४ सालकै वडाध्यक्षहरु २०७९ मा पूनः निर्वाचित हुन् ।
याे पनि पढ्नाेस्
बागमतीका मेयर थापाविरुद्ध अर्को मुद्दा, भरत तालमा ३० करोड भ्रष्टाचारको आरोप
बागमतीका मेयर भरत थापाविरुद्द अकुत सम्पत्ति आर्जनको मुद्दा दर्ता