फौजी किराले खाएको मकैको पात । (तस्बीर : उज्यालो अभियान)
परवानिपुर, २६ जेठ – मकै बालीमा व्यापक मात्रामा फौजी किराको प्रकोप देखिएपछि सर्लाहीको उत्तरी भेगका किसान चिन्तित बनेका छन् ।
चार साताअघि रोपेर भर्खरै गोडमेल गरिएको मकै बालीमा अत्यधिक मात्रामा फौजी किराको प्रकोप देखिएको हो । किराले मकैको पात र डाठ खाएर बोट नै ठुटो पारेको किसानले बताएका छन् ।
जिल्लाको उत्तरी भेगमा पर्ने ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाका किसानले बारीमा लगाएको मकैमा फौजी किराको प्रकोप देखिएको हो । लालबन्दी नगरपालिका–१३, पत्थरकोटका किसान बिर्खबहादुर थिङले अघिल्ला वर्षको तुलनामा यो वर्ष फौजी किराको प्रकोप अझ व्यापक मात्रामा देखिएको बताए ।
“तीन÷चार वर्षदेखि प्रत्येक बाली हुर्काउने बेला फौजी किराले सारै सताइरहेको छ,” थिङले उज्यालो अभियानसँग भने, “अहिले मकै बालीमा त झनै व्यापक मात्रामा क्षति पुर्याइरहेको छ ।” थिङले ४० डिग्री भन्दा बढीको घाम खेपेर गोडमेल गरिएको मकै फौजी किराले खाएर ठूटै ठूटा पारेको दुःखेसो पोखेका छन् ।
आकाशे वर्षाको भर रहेको सर्लाहीको उत्तरी भेगका किसानले बैशाख अन्तिमतिर पर्याप्त वर्षा भएपछि बारीमा मकै रोपेका थिए । त्यसबेला रोपिएको मकै किसानले भर्खरै गोडमेल गरेर सकेका छन् ।
गोडमेलपछि मकै हुर्किदैँ जानुपर्ने बेलामा फौजी किरा लागेर क्षति पुर्याइरहेको किसानको गुनासो छ । किसानका अनुसार किटनाशक औषधि प्रयोग गर्दा पनि फौजी किराले मकैको पात काट्न छाडेको छैन् ।
कृषि प्राविधिकले पछिल्ला वर्षमा मकै, धान, कोदो, तरकारीलगायत हरेक बालीमा फौजी किराको आक्रमण चूनौति बन्दै गइरहेको बताएका छन् । कृषि ज्ञान केन्द्र सर्लाहीका निमित्त प्रमुख देवानन्द रायले पानी पर्न सुुरु भएकाले अब फौजी किराको प्रकोप कम हुँदै जाने बताए ।
केही दिनदेखि पानी पर्नेक्रम बढेकाले फौजी किराको प्रकोप नियन्त्रण हुने अपेक्षा गरिएको हो । “तापक्रम जति बढ्यो फौजी किराका लागि त्यति नै अनुकुल वातावरण बन्छ,” कृषि ज्ञान केन्द्रका निमित्ति प्रमुख रायले उज्यालोसँग नै भने “अब पानी पर्न थालेको छ, विस्तारै किराको प्रकोप कम हुँदै जान्छ ।” उनले प्रत्येक बालीमा फौजी किराको प्रकोप देखिँदा उत्पादनमै असर परिरहेको बताए ।