logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिपुरका सिमान्तकृत मुसहर समुदायलाई वित्तीय साक्षरता सचेतना तालिम


  • उज्यालो अभियान

हरिपुर, २३ जेठ – आर्थिक, सामाजिक र राजनीतिक रुपमा पिछडिएका मुसहर समुदायका अगुवालाई सर्लाहीको हरिपुरमा दुई दिने वित्तीय साक्षरता तालिम प्रदान गरिएको छ ।

मधेशमा वसोवास गर्ने दलित समुदाय अन्तर्गत मुसहर समुदाय शिक्षा र चेतनाको अभावका कारण आर्थिक, सामाजिक र राजनीतिक रुपमा पिछडिएका छन् । ज्ञान, शीप र क्षमताको अभावका कारण न्यून आयस्रोत भएका, आज कमाएर आजै खाने, भविष्यका लागि बचत गर्न असक्षम मुसहर समुदायलाई वित्तीय साक्षरता सम्वन्धी सचेतना कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता के हो ? यसको फाईदा, महत्व, बचत तथा ऋण, आम्दानी र खर्चको विश्लेषण, पारिवारिक बजेट, बैंक तथा वित्तीय कारोबार, वित्तीय अनुशासन, अनलाईन बैकीङ, बीमा, रेमिट्यान्सको बारेमा सचेतना गराइएको साप नेपालका प्रादेशिक निर्देशक जनक कार्कीले जानकारी दिए ।

नेपाल मुसहर संघ सर्लाहीका अध्यक्ष रितुराज ऋषीले देशभर ३ लाखको हाराहारीमा मुसहर समुदायको जनसंख्या रहेकोमा सर्लाहीमा मात्र करिव २० हजार मुसहर रहेका र प्रायः सबै अशिक्षित रहेको बताए । मधेसका अन्य जिल्लामा समेत कार्यक्रम संचालन गर्न आवश्यक रहेको उनले बताएका छन् ।

मुसहर समुदायका अधिकांशले गाउँकै साहु महाजनसँग ४ देखि ५ रुपैयाँ व्याजदरमा ऋण लिने गरेको बताए । साहुसँग लिएको ऋणको साँवा र व्याज तिर्दैमा कमाएको पैसा सकिने भएकाले सँधै गरिविको दुष्चक्रमा परेका उनको भनाई छ ।

कतिपय मुसहर न्युन मुल्यमा महाजनको घरमा हरूवा, चरुवा तथा बधुवा मजदुरको रुपमा काम गर्न बाध्य रहेको ऋषीले बताए । कार्यक्रममा जनहित बचत तथा ऋण सहकारी संस्था रानिगन्जका व्यवस्थापक टंकप्रसाद तिमल्सिना र साप नेपालका कोषाध्यक्ष केदार प्रसाद गौतमले तालिम संचालन गरेका छन् ।

कार्यक्रममा नविल बैक लालबन्दीका शाखा प्रमुख श्याम दाहाल र हरिवन शाखाका प्रमुख उत्सव बिडारीले बैक तथा बित्तीय संस्थाको महत्व, फाईदा, बैक खाता संचालन सम्बन्धमा जानकारी गराएका छन् । मुसहर महिला सशक्तीकरण संजाल हरिपुरकी अध्यक्ष लक्ष्मी पासवानले मुसहर समुदायमा वित्तीय साक्षरताको अज्ञानताका कारण बेला बेलामा ठगिँदै आएकाले तालिमबाट फाईदा पुगेको बताए ।

व्यवसायिक र सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नविल बैकको सौजन्य तथा साप नेपालको आयोजनामा दुई दिने तालिम आज सम्पन्न गरिएको हो ।