हरिपुर २ मा भर्खरै कालोपत्रे भएको सडक ।
हरिपुर, ०६ जेठ – लामो समयदेखिको किचलोपछि सर्लाहीको हरिपुर नगरपालिका–२ मा पुल्चोकदेखि कछडिया टोल पश्चिमसम्मको सडक कालोपत्रे भएको छ ।
अघिल्ला नगरप्रमुखको पालादेखि नै पिचका लागि बजेट बिनियोजन भई विवाद चल्दै आएको थियो । उक्त सडक यो वर्ष भने विवाद समाधान गरी कालोपत्रेको काम सम्पन्न गरिएको हो ।
२४ लाख ८० हजार ७८७ रुपैयाँ ४ पैसामा ठेक्का लगाएर ३४६ मिटर लम्बाई रहेको सडक कालोपत्रे गरिएको हरिपुर नगरपालिका २ वडाध्यक्ष निलबिक्रम थापाले जानकारी दिए ।
वडाध्यक्ष थापाका अनुसार सडक कालोपत्रे भएपछि स्थानीयलाई आवतजावतमा सहजता भएको छ ।